राजनीति


माओवादीमा फर्किने प्रश्नमा बाबुरामको यस्तो आक्रोश

माओवादीमा फर्किने प्रश्नमा बाबुरामको यस्तो आक्रोश

फाइल तस्बिर: डा. बाबुराम भट्टराई


नेपालखबर
फागुन २, २०८१ शुक्रबार १३:५१, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको एउटा भिडिओ अहिले भाइरल छ।

जसमा उनी पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा विजयी भएपछि पत्रकारका प्रश्नमा निकै आक्रोशित हुँदै जवाफ दिइरहेका छन्।

खासगरी माओवादीमा फर्किने र प्रचण्डसँग मिल्नेबारेको प्रश्नमा एकदमै रिसाउँदै उनले आफैँले आफूलाई अत्यन्तै तुच्छ शब्द प्रयोग गरेका छन्। 

पत्रकार सोध्छन्: तपाईंलाई माओवादीमा फर्काउन प्रचण्डले प्रयास गर्दागर्दै नफर्केको हो या प्रचण्डले नचाहेको हो?

जवाफमा डा. भट्टराई भन्छन्, ‘बाबुराम कुकुर हो? घाँस हाल्देर...। के कुरा गरेको, तपाईंलाई लाज लाग्दैन? बाबुराम भट्टराई त्यस्तो मान्छे हो? बाबुराम भट्टराईले त्यत्रो जनयुद्धको नेतृत्व गर्‍यो, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍यायो, त्यसभन्दा अगाडि जाँदै ऊ, अरू साथीहरू थाक्नु भो, त्यही ब्याज खाइराख्नुभएको छ, फरक त्यहाँ हो नि त!’

अर्को प्रश्न: तपाईंले निर्वाचन क्षेत्र नै सुम्पेर सपोर्ट गरेको मान्छे??

उत्तर: मैले उहाँलाई शान्ति प्रक्रिया पूरा गर्न सहयोग गरेको हो, उहाँले गर्नुभएन, सक्नुहुने रहेनछ भनेर हामी अगाडि बढ्यौँ, उहाँ पछाडि नै बस्नुभो। 

प्रश्न: ज्ञानेन्द्र शाहीले जनयुद्ध दिवसलाई धनयुद्ध दिवस भयो भन्नुभयो नि? 

उत्तर: त्यो मान्छे म चिन्दिनँ, त्यो मान्छेको नाम लिन आवश्यक छैन। 

प्रश्न: नयाँ जोश, जाँगरमा उदाएको शक्ति फेरि परिवारवादमा केन्द्रित भयो, तपाईं अध्यक्ष अनि छोरी उपाध्यक्ष, श्रीमती वरिष्ठ नेतृ हो कि के हो? क्लियर पार्दिनु न।

झोकिँदै बाबुराम भन्छन्: त्यो क्लियर नै छ, इतिहासले दिन्छ, त्यसको जवाफ दिन आवश्यक छैन। त्यो प्रश्नै होइन, जवाफ पनि छैन।  

प्रश्न: रामबहादुर थापा बादल तपाईंकै सहयोद्धाले जनयुद्धलाई हिंसा पनि भनेको सुनियो? 

उत्तर: हिंसा दुईथरी हुन्छ, एउटा प्रतिकान्तिकारी हिंसा, अर्काे क्रान्तिकारी। हाम्रो क्रान्तिकारी हिंसा हो। उहाँले त्यो शब्द छुटाको हो कि तपाईंले गलत रिपोर्ट गर्नुभयो? 

प्रश्न: भनेपछि हिंसाचाहिँ हिंसा नै थियो? 

उत्तर: हिंसा त हिंसा नै हो तर क्रान्तिकारी हिंसा, संसारमा क्रान्तिकारी हिंसाबिना कहाँ परिवर्तन भएको छ? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad