राजनीति


संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी, १५ मिनेटलाई बैठक स्थगित

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी, १५ मिनेटलाई बैठक स्थगित

नेपालखबर
माघ २९, २०८१ मंगलबार १४:३२, काठमाडौँ

राष्ट्रिय स्वातन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद् बैठक संसद्को नियमावलीअनुसार नचलेको टिप्पणी गरेका छन्। आज मंगलबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

उनले सरकारले नियमापत्ति गर्दा संसद् नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए। यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाएका थिए। 

पराजुलीलेले सरकारले दुई तिहाईको धाक लगाउदै संसद्लाई पेल्न खोजेको आरोप लगाए। उनले संसद् कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो? भन्दै प्रश्न गरे। 

‘सरकार पक्षको यो पेलाई कस्तो हो? गरिमामय संसद् प्रक्रियाको लागि हामीसँग नियमावली छ। आकस्मिक समय, शून्य समय र विशेष समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो,' उनले भने, 'तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ? नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ।’

सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उनको भनाइ छ।  

रास्वपाका सांसद शिशिर खनालसहितले प्रहरी कुटपिटको घटनालाई लिएर गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। त्यसपछि कांग्रेस सांसद रामहरि खतिवडाले यसबारे आपत्ति जनाएका थिए। 

खतिवडालाई किन समयको दिइएको हो? भन्दै प्रतिपक्षीले प्रश्न उठाए। खतिवडालाई उपसभामुख इन्दिरा रानाले दुई मिनेटको समय दिएकी थिइन्। उनले कुन नियमावलीमा टेकेर समय दिएको भन्दै रास्वपा, माओवादीसहितका सांसदले आपत्ति जनाए।  

रास्वपा सांसद गणेश पराजुलीले खतिवडाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे। 

‍उपसभामुखले यसबारे ध्यानाकर्षण भएको बताउँदै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीहरूले उठेर आपत्ति जनाए। 

केहीबेरमा सभामुख देवराज घिमिरे आएर बैठक १५ मिनेटका लागि स्थगित भएको सूचना सुनाए। सभामुखले विपक्षीलाई आफूले बोल्न समय पाउँदा ठिक र अरुले पाउँदा आपत्ति जनाउने काम गलत भएको प्रतिक्रिया पनि दिएका थिए। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad