बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ।
संघीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गरेका हुन्।
जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घरटहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले माग गरेको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले कसैले पनि अवैधरूपमा राज्यको सम्पत्ति अतिक्रमण र कुनै पनि अनियमितता गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे।
Shares

प्रतिक्रिया