राजनीति


'ओलीसँग मिल्ने सम्भावना छैन, वामदेव र भीम रावललाई स्वागत गर्न तयार छौँ'

'ओलीसँग मिल्ने सम्भावना छैन, वामदेव र भीम रावललाई स्वागत गर्न तयार छौँ'

नेपालखबर
माघ २६, २०८१ शनिबार १४:३०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन्। आज शनिबार पार्टीको काठमाडौँमा उपत्यका प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारबाहीबारे प्रश्न उठाएका हुन्।  

‘अहिले तपाईंले सुन्नुभयो, अध्यादेशको कुरा। अध्यादेश ६/६ वटा अध्यादेश ल्याइयो । हुनतः त्योभन्दा पहिला पनि तपाईंहरूले सुन्नुभयो, एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो,' उनले भने, 'बदल्नुपर्ने कारण के थियो? त्यसको औचित्य के थियो। दुई वटा कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो?'

ओली प्रधानमन्त्री पदमा दुनियाँ ठग्नका लागि आएको उनको आरोप छ। 

'प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम?,' उनले भने, 'अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो। ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचको अवधिमा को हुने हो प्रधानमन्त्री? यसको केही छ जवाफ? मुखबाट त्यो निस्किएको हो की नबोल्नुपर्ने कुरा। अर्थात वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्नेकुरामा गम्भीर हुनुहुन्न।'

नेपालले ओली देश चलाउन प्रधानमन्त्रीको पदमा नभएको आरोप पनि लगाए। 
'उहाँ (ओली)वास्तवमा देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि होइन, कसरी हुन्छ, सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएर लाग्नुभएको छ,' उनले भने, 'यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ।'

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए। माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको दोहोर्‍याए। नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad