राजनीति


पार्टी नेतृत्व लिन्छु भनेर केही पनि गरेको होइन: जनार्दन शर्मा

पार्टी नेतृत्व लिन्छु भनेर केही पनि गरेको होइन: जनार्दन शर्मा

फाइल तस्बिर: माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा


नेपालखबर
माघ २६, २०८१ शनिबार ११:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले नेतृत्व हत्याउनका लागि नभई पार्टी सुधार्नका लागि आन्तरिक बहस चलाइरहेको बताएका छन्।

साथै उनले पार्टी नेतृत्व लिन्छु र लिन्नँ भनेर हुने कुरा नभएको उल्लेख गर्दै यो आन्दोलन र संयोगले हुने तर्क पनि गरेका छन्। 

‘हैन, नेतृत्व लिने भनेर योजना बनाएर केही पनि गरेको होइन।... त्यो त परिस्थिति, आन्दोलन र संयोगले हुने कुरा हो। नेतृत्वको अभिलाषा गरेर बहस गरेको होइन, पार्टीभित्र सुधार आन्दोलनको कुरा गरेको हो’, शनिबार बिहान रासससँगको अन्तर्वार्तामा शर्माले भनेका छन्, ‘भन्नैपर्छ- जनताका समस्या हामीले सुनेनौँ। त्यसैले जनताका समस्या हल गर्ने, हामीले जुन वर्गको प्रतिनिधित्व गर्ने भन्छौँ, त्यसको समस्या हल गर्न सक्ने हैसियत माओवादीसँग हुनुपर्‍यो नि! त्यो हैसियत राख्न सक्ने पार्टी बनाउन सक्नुपर्छ भन्ने बहस हो यो।’

पार्टीभित्र पनि उमेर हद लगाउनुपर्छ भन्ने यहाँको दृष्टिकोण हो?
विद्यार्थीसहित पार्टीका सबै मोर्चामा उमेर हद लगाउने, निर्वाचित गर्ने र अवधि तोक्ने कुरा हुन्छ। कुन उपयुक्त हुने हो, अवधि गर्ने कि, उमेर हद लगाउने कि, निर्वाचन प्रक्रियाबाट हल गर्ने कि? निर्वाचन हुँदा त कति वर्षसम्मले लड्न पाइन्न भन्ने पनि नहुन सक्छ नि । त्यसैकारण मैले यही भन्ने भएन तर महाधिवेशनमा जाँदा यी विषय निचोडमा पुगिन्छ। 

यहाँले पार्टीभित्र उमेर हद र प्रतिस्पर्धाको कुरा गरिरहँदा पार्टी नेतृत्व लिनका लागि पूर्वयोजना बनाइरहेको भन्ने टिप्पणी छ नि?
हैन, नेतृत्व लिने भनेर योजना बनाएर केही पनि गरेको होइन। माओवादी पार्टी हिजो के थियो? आज कहाँ छ? यो कुराको समीक्षा गरेको हो मैले। हिजो माओवादीको लहर आज किन घट्यो? किन हामीले निर्वाचन क्षेत्रको रक्षा गर्न सकेनौँ? भन्नैपर्छ- जनताका समस्या हामीले सुनेनौँ। त्यसैले जनताका समस्या हल गर्ने, हामीले जुन वर्गको प्रतिनिधित्व गर्ने भन्छौँ, त्यसको समस्या हल गर्न सक्ने हैसियत माओवादीसँग हुनुपर्‍यो नि! त्यो हैसियत राख्न सक्ने पार्टी बनाउन सक्नुपर्छ भन्ने बहस हो यो। त्यो बहस गर्दा आरोप लगाउने भन्लान्- नेतृत्व गर्नलाई यति गर्‍यो भनेर। म पार्टी नेतृत्व लिन्छु र लिन्नँ भनेर हुने होइन, त्यो त परिस्थिति, आन्दोलन र संयोगले हुने कुरा हो। नेतृत्वको अभिलाषा गरेर बहस गरेको होइन, पार्टीभित्र सुधार आन्दोलनको कुरा गरेको हो। पार्टीलाई बलियो बनाएर संविधान र जनअधिकारको रक्षा गर्ने हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad