विपक्षी दलका सांसदहरूले स्वर्गद्वारी गुठीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बोल्दै उनीहरूले गुठीपीडितहरू लामो समयदेखि काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत रहे पनि उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएका हुन्।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी जग्गाबाट निष्काशित भएकाहरूलाई पुनःस्थापित गर्न माग गरिन्। उनले किसानले रैतानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गर्नुपर्ने किसानका मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
‘मौलिक हकमा पनि प्रत्येक नागरिकलाई आवासको हकको व्यवस्था गरिएको छ । तर संविधान जारी भएको यति लामो समय भइसक्दा पनि गुठीसम्बन्धी कानून नबन्दा आज मोही किसानहरू मर्कामा परेका छन्,' उनले भनिन्, 'गुठीपीडित मोही किसानहरू पटकपटक काठमाडौं आउने मन्त्री, प्रधानमन्त्रीहरूलाई भेट्ने र आफ्नो मागहरू राख्ने काम गरे । त्यो माग पूरा नहुँदा गत एक हप्तादेखि काठमाडौंको मुटु माइतीघर मण्डलामा स्वर्गद्वारी गुठीपीडितका मोही किसानहरू आन्दोलनमा हुनुहुन्छ।'
उनले आन्दोलनमा उत्रिएकाहरूले गुठीको जग्गाका निष्कासित मोहीको हक पुर्नस्थापित गर्न, किसानले बुझाउनुपर्ने रैतानी वडामार्फत बुझाउने व्यवस्था गर्न र स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको हुनाले मोहीको नाममा रैतानी हुने व्यवस्था गरियोस् भनेर माग राखेको बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गुठीपीडित किसान लामो समयदेखि आन्दोलनरत हुँदा समेत सरकारको ध्यानाकर्षण नहुनु जनताप्रति सरकारको गैरजिम्मेवारीपनको ज्वलन्त उदाहरण भएको बताए। उनले स्वर्गद्वारी गुठीका मोही किसानले उठाएको जायज मागहरूप्रति सरकारको ध्यानकर्षण गराए।
‘आज ६ दिनदेखि स्वर्गद्वारी गुठीका मोही किसानहरू माईतीघरमा मण्डलामा आन्दोलनरत छन् । तर सरकारले एक नजर लगाउने कुरा पनि गरेको छ,' उनले भने,'यो त जनताप्रति सरकारको गैरजिम्मेवारीपनको ज्वलन्त उदाहरण हो । आज म स्वर्गद्वारी गुठीका मोही किसानहरूले उठाउनुभएका जायज मागहरूप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले सत्तारुढ दलका नेताहरूले अध्यदेशले देश नै खुसी भइरहेको टिप्पणी गरिरहेको उल्लेख गर्दै ति किसानलाई सोध्न पठाउनुपर्ने बताए। उनले स्वर्गद्वारी गुठीका मोही किसानको माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराए।
आइतबारदेखि काठमाडौंको माइतीघरमा दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठीपीडितहरूले २०४५ सालदेखि जिल्लामा आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाइ नभएपछि काठमाडौँ केन्द्रित आन्दोलन गरेको बताएका छ्न।
Shares

प्रतिक्रिया