राजनीति


इटहरीमा उपमेयर ताला लगाउने, मेयर फुटाउने

इटहरीमा उपमेयर ताला लगाउने, मेयर फुटाउने

नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:५, काठमाडौँ

इटहरीमा मेयर र उपमेयरको कलहका कारण सेवा प्रवाह लामो समयदेखि अवरुद्ध हुँदै आयो।  मेयर हेमकर्ण पौडेलले महानगरपालिकामा एकलौटी गरेर नागरिकलाई सेवा पाउने अधिकारबाट वञ्चित गराउन कर्मचारी प्रयोग गरेको आरोप उपमेयर संगिताकुमारी चौधरीले लगाउँदै आइन्।

इटहरी उपमहानगरपालिकामा लगाएको ताला खोल्ने विषयमा सहमति नभएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला बिहीबार बिहान फुटाए। मेयर पौडेलले आफ्नै जनप्रतिनिधिसँग छलफल नै नगरी ताला फोडेको विषयमा उपमेयर चौधरीसहितका वडा अध्यक्षहरूले आक्रोश पोखे र फेरि ताला लगाउने चेतावनी दिए। 

१४ दिनअघि उपमेयर संगिताकुमारी चौधरीको नेतृत्वमा उपमहानगरपालिकाको प्रशासन शाखामा तालाबन्दी भएको थियो। गत माघ ११ गते प्रशासन शाखा प्रमुख सञ्जिव खड्काले मनपरी कर्मचारी सरुवा गरी महानगरको सर्भर डाउन गराएको, आइडी पासवर्ड परिवर्तन गरेर सर्वसाधारणलाई दु:ख दिने काम गरेको भन्दै प्रशासनमा तालाबन्दी भएको थियो।

तालाबन्दीको विषयमा सहमति गर्नु पर्नेमा मेयर पौडेलले एकलौटी गर्दै आएको आरोप उपमेयरसहितका वडा अध्यक्षको छ। मेयर पौडेलले एक विज्ञप्ति जारी गर्दै उपमेयर चौधरीसँग पटक पटक छलफल गर्दा पनि सहमति हुन नसकेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ,  ‘मिति २०८१ माघ २३ गते मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल हुँदा समेत प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति नभएको ब्यहोरा जनकारी गराउँछु।’

उपमेयर संगिताकुमारी चौधरीले सहमति बेगर ताला फोडिएकोमा आक्रोश व्यक्त गरेकी छन्। उनले छलफलमा सहमति नभएको विषयमा मेयरले दादागिरी देखाएर एकलौटी रूपमा ताला फोड्नु गलत मनसायबाट भएको आरोप लगाइन्। 

बन्यो सहमति

इटहरी उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र प्रशासनको बीचमा भएको विवाद  बिहीबार साँझसम्म आउँदा समाधान भएको छ।

दिनभरि भएको छलफलपछि सहमति बनेको हो। इटहरी उपमहानगरपालिकाका प्रशासन प्रमुख सञ्जीव खड्काले नागरिकको सेवा प्रवाहमा नै असर पर्ने गरी सरभर डाउन गराएको विषयमा उनले माफी माग्ने सहमति बनेको छ।

त्यस्तै सरुवा भएका कर्मचारीलाई फर्काउने र कार्यान्वयन हुन नसकेका सबै योजनाहरू शत प्रतिशत कार्यान्वयनमा लग्ने सहमति भएको हो।  उपमेयर चौधरी सहित वडा अध्यक्षहरूले मेयरलाई लक्षित गरी समस्या समाधान नगरी ताला फोडेको विषयमा पुन: तालाबन्दी गर्ने चेतावनी दिएपछि सहमति भएको हो।

प्रशासन प्रमुख खड्का मेयर पौडेलका विश्वास पात्र मानिन्छन्। मेयरको निर्देशनमा वडाहरूको सेवा नै प्रभावित हुने गरी सर्भर डाउन गरेको आरोप पनि वडा अध्यक्षहरूले लगाउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad