गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो जीवन, मूल्य र आदर्शप्रति कै अवलमूल्यन हो भन्ने ठानेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकको आकस्मिक र शुन्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार अभिव्यक्त चाँसोहरू र सांसदहरूले उठाएको विषयमा गम्भीर रुपमा ध्यानार्कषण भएको बताएका हुन्।
'वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवलमूल्यन हो भन्ने म ठान्दछु,' उनले भने, 'नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ।'
उनले अन्तरजातीय विवाहबारे देशमा पटक–पटक विषयहरू उठ्ने गरेका बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधै रहेको जानकारी दिए।
'यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशिल रहेको छ,'उनले भने, 'म अत्यन्त जाँदा संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा सधैँ रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्वद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पाटी हो,म त्यसमा अहिले पनि र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु।'
अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको बताउँदै उनले उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय भएको र गृह मन्त्रालय कानुनी व्यवस्थालाई कार्यान्वयन गराउन प्रतिबद्ध रहेको बताए।
'समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोल्कल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु,' उनले भने, 'समाचार थाहा पाउँदा बितिक्कै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिएअनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ। तथापी यस विषयमा कही पनि त्रुटि भएको देखिए छानविन र कानुन बमोजिम कारवाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु।'
उनले पीडितको गुनासो संवोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूती दिने कुरामा गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए। 'नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरूको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन,' लेखकले भने, 'सरकारले सम्पूर्ण रुपमा संरक्षण गर्ने छ भन्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।'
Shares

प्रतिक्रिया