राजनीति


कांग्रेस-एमालेका लागि हामी आवश्यक होइनौँ: उपेन्द्र यादव (अन्तर्वार्ता)

कांग्रेस-एमालेका लागि हामी आवश्यक होइनौँ: उपेन्द्र यादव (अन्तर्वार्ता)

फाइल तस्बिर


जनार्दन पोखरेल
माघ २४, २०८१ बिहिबार ७:४५, काठमाडौँ

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मुख्य सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेताहरुले अहिले फकाइरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार साँझ बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्। 

त्यसक्रममा दुई नेताबीच आधा घण्टा जति कुराकानी भएको छ। तर, देउवा र यादवबीच के समझदारी भयो, खुलिसकेको छैन। यादवलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्नका लागि बालुवाटार बोलाएको चर्चा छ। 

यसै सन्दर्भमा नेपालखबरले अध्यक्ष यादवसँग छोटो कुरा गरेको छ।

आज बिहान प्रधानमन्त्रीसँग भेटघाट गर्दै हुनुहुन्छ?
हेरौँ, तर भेट हुने निश्चित छैन। अहिले भेट नभए पनि हाउस (संसद् बैठक) मा भेट भैहाल्छ नि!

अहिले बिहानै प्रधानमन्त्रीसँग पनि तपाईंकाे कुरा हुने भन्ने चर्चा छ नि?
भेट हुन सक्छ, तर निश्चित छैन। 

सरकारले ल्याएको अध्यादेशप्रति तपाईंहरुको धारणा के हो?
हामीले सरकारलाई बाहिरबाट समर्थन गरेकै छौँ नि! 

तपाईंहरुले समर्थन नगरे अध्यादेश अस्वीकृत हुन्छ, अध्यादेशको पक्षमा उभिनुहुन्छ कि विपक्षमा?
यो विषयमा सरकारमा रहेका सत्तारुढ दलहरुले पहिला किन सोचेनन्? हामी उहाँहरुको लागि आवश्यक होइनौँ। कांग्रेस र एमाले मिलेपछि अरुको कुनै महत्व नै छैन। 

अध्यादेशलाई समर्थन गर्नुहुन्न?
अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान ११ बजे हाम्रो बैठक बस्दैछ। त्यही बैठकले निर्णय लिन्छ। अहिलेसम्म हामीले अध्यादेशप्रति कुनै धारणा बनाएका छैनौँ। 

तपाईंहरुको विपक्षी गठबन्धनसँग पनि छलफल चलिरहेको हो? 
विपक्षी गठबन्धनसँग हामीले किन छलफल गर्ने? हामी उहाँहरुसँग छलफल गर्दैनौँ। अहिले कुनै पनि गठनबन्धनमा हामी छैनौँ। 

यता अध्यादेशमा समर्थन गरे, मधेस प्रदेशको मुख्यमन्त्री तपाईंको पार्टीलाई दिने भनेर एमाले र कांग्रेसले तपाईंलाई फकाइरहेका छन् भन्ने पनि चर्चा छ नि?
यी सबै हावादारी कुरा हुन्। हामी अहिले कांग्रेस, एमालेसँगको छलफलमा अध्यादेशमा मात्रै केन्द्रीत छौँ। अन्य कुरामा हामीलाई कुनै सरोकार छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad