बागमती


निकुञ्जकै टोलीले गोली हानेर मार्‍यो जंगली हात्ती मकुना

निकुञ्जकै टोलीले गोली हानेर मार्‍यो जंगली हात्ती मकुना

निकुञ्जकै गोली लागेर ढलेको जंगली हात्ती मकुना।


सुनिता विष्ट
माघ २४, २०८१ बिहिबार ८:९, हेटौँडा

चितवनमा राष्ट्रिय निकुञ्जको टोलीले हानेको गोली लागेर जंगली हात्ती मकुना मरेको छ।

बुधबार नियन्त्रणमा लिने प्रयास गर्दा टोलीलाई आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाउन  बाध्य भएको राष्ट्रिय निकुञ्जले जनाएको छ। 

जंगल बाहिर निस्किएर दु:ख दिन थालेपछि चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा गोली प्रहार हुँदा मकुना मारिएको हो। 

निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली हानिएको थियो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बुधबार दिउँसो हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात् मकुनासँग भेट भएको थियो।

‘उसले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ‘वार्निङ’ (चेतावनी) हवाई फायर गरेको थियो’, सूचना अधिकारी थापामगरले भने, ‘त्यसो गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्रप्रसादमा सवार रेजर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो।’

उनका अनुसार गोली हानेपछि मकुना केही पर भागेको थियो। तर फेरि फर्किएर आक्रमण गर्न आएपछि टोलीले अर्को राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेपछि भागेको उक्त जंगली हात्ती खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थापाले बताए।

तत्कालै उठाउने प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सकसहितको प्राविधिक टोलीले मकुना मरिसकेको घोषणा गरेको उनले बताए।

घटनास्थलमा हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको पाइएको छ।

मकुना गत असोजदेखि सौराहा क्षेत्रमा देखिन थालेको थियो। जंगलमा भन्दा बस्तीतर्फ बढी देखिन थालेपछि उसलाई कोर क्षेत्रमा पठाउन निकुञ्जले प्रयास गरिरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad