राजनीति


सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनर्लेखन गर्न जनमोर्चाको माग

सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनर्लेखन गर्न जनमोर्चाको माग

नेपालखबर
माघ २२, २०८१ मंगलबार २२:२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले सरकारद्वारा हालै राष्ट्रियसभामा प्रस्तुत सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

विधेयकमा रहेका अस्पष्टतालाई हटाउन माग गर्दै जनमोर्चाले सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रस्तुत गर्दा संविधानमा उल्लेखित मौलिक हक, अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र गोपनीयताको हकबारे ध्यान दिनुपर्नेमा जोड दिएको छ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको पाथीभरा केबलकार निर्माणमा अवरोध गर्ने कार्यलाईसमेत गलत भनिएको छ।

यस्तो छ वक्तव्य
सरकारले राष्ट्रियसभामा प्रस्तुत गरेको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी विधेयक तथा पाथीभरामा केबुलकार निर्माणसम्बन्धी देखा परेका विवादको बारेमा पार्टीको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ।

१) २०८१ माघ १८ गते नेपाल सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ राष्ट्रियसभामा प्रस्तुत गरेको छ।

त्यसबारे हाम्रो स्पष्ट धारणा छ कि सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, व्यक्तिगत गोपनीयतालाई भङ्ग गरिदिने, छाडा र अश्लील क्रियाकलाप सम्प्रेषण गर्नेजस्ता क्रियाकलापमाथि नियन्त्रण र नियमन गरिनुपर्ने आवश्यकता छ तर सामाजिक सञ्जालको सञ्चालन तथा प्रयोगलाई नियमन गर्नेसम्बन्धी कुनै कानुनी व्यवस्था गर्दा नेपालको संविधानले ग्यारेन्टी गरेका मौलिक हक, अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता, गोपनीयताको हकलगायतका अधिकार हनन् वा कुण्ठित नहोस् भन्नेतर्फ सरकार सचेत हुनुपर्दछ तर यो विधेयकका प्रस्तावित विभिन्न प्रावधानलाई हेर्दा सरकारले आफ्ना विपक्षीलाई दमन गर्ने गलत नियत तथा उद्देश्यले यो कानुन ल्याउन खोजेको देखिन्छ।

त्यसैले हाम्रो पार्टीले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकअधिकारलाई कुण्ठित हुने गरी विधेयकका प्रस्तावित प्रावधान, वाक्यांश वा दुईअर्थी वा बहुअर्थी लाग्ने शब्द वा अस्पष्टतालाई हटाएर विधेयकलाई सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ।

२) पाथीभरामा केबलकार निर्माणसम्बन्धी विवादप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ। पाथीभरामा केबलकार निर्माणमा अवरोध पुऱ्याउने कुरालाई हामीले सही मान्दैनौँ तर केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनुपर्दछ। त्यसका साथै पाथीभरामा केबलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दुरीमा हुनुपर्दछ तर त्यो कति दुरीमा हुने भन्ने कुरा त्यहाँका जनता र केबलकार व्यवसायीको आपसी सहमति र सल्लाहबाट निश्चित गरिनुपर्ने कुरामा हामीले जोड दिन्छौँ।

चित्रबहादुर केसी
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad