नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।
कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्।
उनले दुई ठूला प्रतिस्पर्धी पार्टी एक भएर राजनीतिक स्थिरता दिने प्रयास गरेको पनि दाबी गरे। 'ओली र म सँगै जेलमा बसेको साथी हौँ। धेरै दु:ख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,' उनले भने, ' झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन।'
'राजनीतिक स्थिरता कायम गर्नका लागि नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौँ। स्थायीत्व स्पष्ट छ। पहिलेदेखि नै दुई वटा पार्टी लोकतन्त्र स्थापनाका लागि लडेको हुन्,' उनले भने, 'हामी लडेका हौँ। जेल पनि सँगै बसेका हौँ ओलीजीसँग। उहाँ झापा कान्डमा पनि लामो समय जेल बस्नु भयो। देशका लागि उहाँले पनि धेरै दुख गर्नु भएको छ।'
उनले देशको विकासका लागि ओली स्पष्ट भएपछि सँगै गठबन्धन गरेर गएको उनको भनाइ छ। देउवाले देशमा जुन विकास हुनुपर्ने हो त्यो गतिमा नभएकोले अझै गर्न बाँकी रहेको बताए।
'केही समस्या आउन सक्छन्। यसलाई समाधान गर्दै जानुपर्ने हुन्छ। स्थिरता भयो भने नेपालको विकास अझै धेरै हुन्छ भन्ने विश्वास छ। जुन विकास हुनुपर्ने हो भएको छैन,' उनले भने।
देउवाले विद्यार्थीकालमा पोखरामा आउँदा माछापुच्छ्रे हिँउले छोपेको याद ताजै रहको भन्दै थपे- अहिले क्लाइमेट चेन्जले गर्दा हिमाल कालो भएको छ।
Shares

प्रतिक्रिया