राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गरेका छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने बताए। सांसद भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्नु उचित नहुने बताए।
उनले भने, ‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र? मलाई त अचम्म के लाग्छ भने अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता विरोध गरेको छ। ल्याउनु हुँदैन थियो भन्न मिल्छ र? सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो।’
उनले कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरू महिनौँ रोकिने लगायतका झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको दाबी गरे।
सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने बताए।
Shares

प्रतिक्रिया