जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्। सहकारी ठगीको आरोप लागेका थापालाई म्याग्दी प्रहरीले आइतबार बिहान ९ बजे पक्राउ गरेको हो। सहकारीका उपाध्यक्ष रहेका थापा र उनको समूहमाथि स्थानीय कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोप छ।
'आज बिहान पाँच बजे थापाको घरमा सिभिलका प्रहरी पुगेका थिए। केहीबेरपछि प्रहरी निस्किए,' प्रहरी स्रोत भन्छ,'पक्राउ परेको खबर सार्वजनिक हुन्छ भन्ने त्रासले बिहान ९ बजे थापा आफैँ जिल्ला प्रहरी कार्यालय आइपुगे।'
म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले पनि थापा पक्राउ परेको पुष्टि गरे। 'उहाँ अहिले जिल्ला प्रहरी कार्यालयमा हुनुहुन्छ,' उनले भने, 'प्रहरीले कानुनअनुसार गर्नुपर्ने कामहरू गरिरहेको छ।'
कुमारी सहकारीको अनुसन्धान प्रतिवेदन गत वर्ष नै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सहकारीको रकमको दुरुपयोग गरी थापासहितले ढुकुटी खेलाउने, बोर्डिङ स्कुलमा लगानी गर्ने र व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ।
नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित उनीविरुद्ध २०७९ माघ २८ गते सहकारीकै अध्यक्ष यमबहादुर रोक्कालगायतले सहकारी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर सहकारीको रकम दुरुपयोगको छानबिनको माग गरेका थिए।
रोक्कासहितको निवेदनको आधारमा सहकारी रजिष्ट्रारको कार्यालय कास्कीले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिनको जिम्मेबारी दिएको थियो। गौतमको छानविन प्रतिवेदनमा थापा उक्त सहकारीको रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेको उल्लेख छ।
Shares

प्रतिक्रिया