राजनीति


राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैनः ज्ञवाली

राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैनः ज्ञवाली

नेपालखबर
माघ १९, २०८१ शनिबार २०:५०, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताएका छन्। 

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शनिबार आयोजित ‘काव्यगोष्ठी’मा उनले निरंकुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताए।

अभिव्यक्ति स्वतन्त्रताको सवालमा नेपालले दक्षिण एसियामै अग्रगामी संवैधानिक व्यवस्था गरेको भन्दै यसलाई समृद्धि र रूपान्तरणका लागि उपयोग गर्न सक्नुपर्नेमा जोड दिए। 

सहित्यकारसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वर्तमानका कवितामा सामाजिक मूल्य र न्यायको खोजी, लैङ्गिक समताजस्ता विषय अधिक आउने गरेको र स्रष्टाहरूले कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने आशा सम्प्रेषण गर्न सक्नुपर्ने धारणा राखे। उनले द्वन्द्वपीडितको आवाज प्रस्तुत गरिएको ‘विनाअनुहारको रात’ शीर्षकको कवितावाचन गरेका थिए।

कार्यक्रममा साहित्यिक र राजनीतिक क्षेत्रबाट ज्ञवालीले गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो। यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष रामविनयलाई समेत सम्मान गरिएको थियो। 

प्रतिष्ठानको हरेक महिनाको तेस्रो शनिबार हुने यस काव्यगोष्ठीमा यस पटक कवि विनयका आधा दर्जन कविताको एकल प्रस्तुति गरिएको थियो। रासस

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad