प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्।
बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए।
उनले नेपालले तिब्रताका साथ विकासका कामहरूअघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए।
उनले भने, ‘अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ। नेपाल अगाडि बढ्दैछ। अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ।
प्रधानमन्त्री ओलीले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरू रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको बताए।
देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको दाबी गरे। प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशील बनाउन सरकारले काम गरिरहेको उनको भनाई थियो। सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘यस बीचको केही अन्तरालको बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ। त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशील बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ। तर हाम्रो आयस्तर न्युन अवस्थामा छ। यस अवस्थालाई हामीले फेर्नु छ। हामी सबै यस कुरामा जुट्नुपरेको छ।’
प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकार अघि बढेको बताए। पूर्वाधार बिना देशको विकास हुन नसक्ने उनको भनाई थियो।
Shares

प्रतिक्रिया