राजनीति


आशिकालाई हिरासतमा भेटेपछि सुमनाको टिप्पणी : शक्तिकेन्द्रसम्म पहुँच नभएकालाई पेल्ने नियत भो

आशिकालाई हिरासतमा भेटेपछि सुमनाको टिप्पणी : शक्तिकेन्द्रसम्म पहुँच नभएकालाई पेल्ने नियत भो

नेपालखबर
माघ १७, २०८१ बिहिबार १५:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्यले शक्तिकेन्द्रमा पहुँच नहुने नागरिकलाई पेल्ने नियत राखेको आरोप लगाएकी छन्।

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी आशिका तामाङलाई बिहीबार भेटेपछि पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले यस्तो प्रतिक्रिया दिएकी हुन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँ (आशिका)को तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिले सम्म हुन सकेको छैन, सबै वृत्तान्तको भिडिओ आफैँले पोस्ट गरेकी छिन् त? यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारबाही हुन्छ?’

उनले ‘यो त सरासर ‘हाम्रो विरोध गर्छस्! पख देखाइदिन्छु’ भनेको होइन?’ भन्दै प्रश्न गरेकी छन्।

‘यो भन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी÷तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले’ सुमनाले लेखेकी छन्, ‘अहिले आशिकाजीको सट्टा कुनै दल निकट कोहीलाई प्रकाउ गर्ने कुरा मात्र उठेको भए के भइसक्थ्यो हामीले नभोगेको हैन। शक्तिकेन्द्रसम्म पहुँच नभएकोलाई मात्र पेल्ने नियत भो।’

सुमनाले सामाजिक सञ्जालमार्फत ‘अब सरकारले समाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक ल्याएको छ, त्यस पछि त स्टाटस लेखेकै भरमा ७७ जिल्लाकै हिरासत घुमाउन सक्ने देखियो’ भन्दै चिन्ता जोहर गरेकी छन्। 

पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

त्यस दिनदेखि महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad