नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूलाई भेटेर बधाई दिएका छन्।
बिहीबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर उनले बधाई दिएका हुन्। त्यसक्रममा प्रचण्डले अनेरास्ववियूको चुनाव देशकै चासोको विषय बनेको बताएका थिए।
‘विपक्षी दलको बैठकमा गएर आएको, सबैले मलाई बधाई दिए,’ प्रचण्डको भनाइ उदृद्ध गर्दै अनेरास्ववियूका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘किन भनेको त तपाईंको विद्यार्थी संगठनको सम्मेलन राम्रोसँग भएछ, खुसी लाग्यो भनेर बधाई दिए।’
उनले थपे, ‘अनेरास्ववियूको यो चुनावले एउटा अखिल क्रान्तिकारीलाई मात्रै होइन, समग्र देशलाई नै यो चासोको विषय भएको छ।’

अन्तिम समयसम्म सहमतिको प्रयास गरे पनि त्यो सफल नभएपछि चुनाव गर्नुपरेको भन्दै प्रचण्डले जोजसले जितेर आएको भए पनि कसैलाई भेदभाव नगरिने प्रष्ट पारे। ‘जोजसले जितेर आए पनि ती सबै माओवादीले नै जितेर आएको हो,’ उनको भनाइ थियो, ‘कसैलाई काखा, कसैलाई पाखा भन्ने हुँदैन। सबै हाम्रै साथीहरू हो।’
अब एकतावद्ध भएर स्ववियू चुनावमा लाग्न आग्रह गरेका प्रचण्डले पछिल्लो समय पत्रकार महासंघ र स्थानीय तहको उपचुनावमा आएको जस्तै नजिता निकाल्नुपर्नैमा जोड दिएका थिए। ‘एकतावद्ध भएर स्ववियूलाई केन्द्रमा राखेर गतिविधि गर्नुहोस्,’ उनको भनाइ थियो, ‘तपाईंहरू एकतावद्ध भयो भने स्ववियू चुनाव जितिन्छ। पत्रकार महासंघ र स्थानीय तहको उपचुनावमा जुन परिणाम आयो, त्यस्तै स्ववियू चुनावमा पनि आओस्।’
अनेरास्ववियू क्रान्तिकारीमा प्रदर्शन भएको एकताले पार्टीलाई समेत एकतावद्ध हुन दवाव पुग्ने प्रचण्डको भनाइ छ। ‘तपाईंहरुले यहाँ प्रदर्शन गर्ने एकताले पार्टीभित्र पनि एकता गर्नको लागि दवाव बढ्छ,’ उनको भनाइ थियो, ‘त्यसै कारणले तपाईंहरू जति बढी एकतावद्ध हुनुभयो, पार्टी पनि त्यति नै एकतावद्ध हुन्छ।’
क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू भएपछि अधिकांश नयाँ अनुहार नेतृत्वमा आएका छन्। कतै फुच्चाफुच्चीहरु त आउने होइनन् भन्नेमा आफू डराएको भए पनि भेटपछि राम्रो टिम बनेको आफूले पाएको प्रचण्डको भनाइ थियो।
उनले भनेका थिए, ‘मलाई डर थियो– कतै फुच्चाफुच्ची त आएनन्। तर, तपाईंहरूको परिचय सबै सुन्दा तपाईंहरूको एक्सिलेन्ट टिम बनेको छ। यो टिमले हाक्नसक्छ।’
Shares

प्रतिक्रिया