राजनीति


तनहुँको पुलिमराङ पुगेर राष्ट्रपति पौडेलले गरे सहिद पार्कको विकासमा सहयोग गर्न आग्रह

तनहुँको पुलिमराङ पुगेर राष्ट्रपति पौडेलले गरे सहिद पार्कको विकासमा सहयोग गर्न आग्रह

नेपालखबर
माघ १६, २०८१ बुधबार १५:१८, दमौली (तनहुँ)

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिदपार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन्।

सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो।

बृहत् गुरुयोजनाअनुसार सहिदपार्कको सर्वाङ्गीण विकासका लागि रु १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए।

सहिद स्मारक पार्क तथा पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार रहेका उल्लेख गर्दै अध्यक्ष गुरुङले यस क्षेत्रको विकास निर्माणअन्तर्गत पक्की सडक, बिजुलीको स्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिने गरी विकास निर्माणका लागि सरकारसँग सहयोग उपलब्ध गराउने सन्दर्भमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए।
 

सहिद दिवसका अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न आजै पुलमराङस्थित सहिद पार्क आइगेका राष्ट्रपति पौडेललाई जिल्लास्थित कार्यालय तथा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीय जनताले स्वागत गरेका थिए।

सो अवसरमा राष्ट्रपति पौडेल  र प्रथम महिला सविता पौडेलले पुलिमराङस्थित सहिदपार्कमा रहेका सहिदहरुको शालिकमा माल्यार्पण गरेका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

तनहुँको सदरमुकाम दमौलीबाट उत्तरतर्फ करिब ४० किलोमिटर टाढा पुलिमराङस्थित सहिदपार्कमा भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन्। जहाँनिया राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाएका उल्लिखित सहिदहरूको जन्म पुलिमराङमा भएको हो।

यसै सन्दर्भमा सहिद स्मारक कोष समिति २०५१ सालमा स्थापना भएको र २०६६ सालमा छ जना सहिदको अर्धकदको सालिक राखिएको समितिले जनाएको छ।  

राष्ट्रपति पौडेल सहिद दिवससँग सम्बन्धित सो कार्यक्रम सम्पन्न भएपछि लमजुङको मध्यनेपाल नगरपालिका सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा सरिक  हुने कार्यक्रम छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad