प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ। २५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो।
बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आफ्ना सदस्यहरूको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ।
मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक डाकिएको थियो। यी आयोजनामा मन्त्री खड्काले आर्थिक लेनदेन गरेको आरोप लागेको छ।
उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए। समितिमा २५ सदस्य छन्। बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ। आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो।
समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भए। कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित थिए। समितिमा कांग्रेसका ८ जना सांसद सदस्य छन्।
Shares

प्रतिक्रिया