नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको मतगणना पार्टीको मुख्यालय (पेरिसडाँडा) मा जारी छ।
मतपत्रमा प्रयोग गरिएका फरक–फरक मसीको विवाद मिलेपछि मंगलबार राति १० बजेदेखि माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा मतगणना चलिरहेको हो।
गन्न बाँकी ५२२ मत पार्टीको हेडक्वाटर पेरिसडाँडामा गन्ने काम भइरहेको अध्यक्षका उम्मेदवार हेमन्त राइका तर्फबाट प्रतिनिधि बसेका बाबुराम नेपालीले जानकारी दिएका छन्।
मत दिँदा मतपत्रमा रातो मसी प्रयोग गरिनुपर्नेमा अन्य रङको मसी पनि लगाइएको भन्दै गत आइतबार बिहानदेखि मतगणना रोकिएको थियो।
यस विषयमा निर्वाचन समितिले माओवादी मुख्यालय पेरिसडाँडामा अध्यक्षका चारै उम्मेदवार, फ्याक्सन इन्चार्जसहितलाई राखेर मंगलबार छलफल गरेपछि सबै मसी प्रयोग गरिएका मतपत्र गन्ने सहमति जुटेको हो।
'मसीको विवाद नगर्ने, सबै गणना गरेर जाने भयो,' मतगणनामा प्रतिनिधि रहेका नेपालीले भने।
अनेरास्वियू क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि यही माघ १२ गते निर्वाचन भएको थियो। यसअन्तर्गत प्रदेशगत रूपमा मतदान केन्द्र स्थापना गरी भौगोलिक सात प्रदेश र गैरभौगोलिक दुई प्रदेशबाट मतदान गरिएको थियो।
त्यही दिन बेलुकादेखि मतगणना सुरु गरी भौगोलिक सात प्रदेशको मत परिणाम पनि आइसकेको छ। तर गैरभौगोलिक २ प्रदेश विश्वविद्यालय र विशेष प्रदेशअन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठ मतदान केन्द्रमा खसालिएको मत गणनामा फरक मसी प्रयोग भएको विषयमा विवाद भयो।
जसका कारण आइतबार बिहानदेखि अवरुद्ध मतगणना मंगलबार राति १० बजे सुरु भएको हो।
अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले हाल महासचिव र उपमहासचिव पदको मतगणना भइरहेको र यो सकिएपछि उपाध्यक्ष र अध्यक्ष पदको मत गनिने जानकारी दिए।
बुधबार बिहान नेपालखबरसँग उनले भने, ‘आजै परिणाम घोषणा हुनेछ।’
सात प्रदेशको मत परिणाम आउँदासम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर विजय शर्मा सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर हेमन्त राईबीच कडा टक्कर देखिएको छ।
Shares

प्रतिक्रिया