राजनीति


वर्षमानलाई लिएर तेह्रथुम जाँदै प्रचण्ड

आज र भोलि दुवै नेताले प्रधानमन्त्री ओलीको जन्मथलो आठराईमा बिताउने
वर्षमानलाई लिएर तेह्रथुम जाँदै प्रचण्ड

नेपालखबर
माघ १४, २०८१ सोमबार ८:९, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्। 

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन्। 

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ। 

त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन्। प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ। 

उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रुपमा मारिएका थिए। 

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । 

प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन। 

उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन्। मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ। 

त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन्। दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द तेहथुमका नेता रघु गौतमले जानकारी दिए। 

प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यामिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए। नियुक्तिपत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad