नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना रोकिएको छ। मधेस प्रदेशको मतपत्र हराएपछि मतगणना रोकिएको हो।
यस्तै, मतपत्रमा कालो मसी र रातो मसी लगाईको पाइएपछि विशेष प्रदेश कमिटीको मतगणना पनि रोकिएको छ। विश्वविद्यालय प्रदेश समितिको मतगणना पनि हुन सकेको छैन।
त्यसबारे निर्णय गर्न अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ। क्रान्तिकारीको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो। मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको थियो।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोसी र बागमती प्रदेशको मतगणना भने सकिएको छ। मधेस प्रदेशको मतगणना जारी रहेकै बेला मुचुल्का गरिएको ५ मत हराएपछि विवाद भएर मतगणना रोकिएको हो।
‘मधेस प्रदेशको केही मत गणना गर्न बाँकी हुँदै मतपत्र हराएको पाइएपछि रोकिएको छ,’ निर्वाचन समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘विशेष प्रदेश समितिको मतगणना हुँदै गर्दा मतपत्रमा कालो मसी र रातो मसी लगाइएको भेटियो। प्राविधिक समस्या सुल्झाउने प्रयास भइरहेको छ।’
हेमन्त राईको तर्फबाट मतगणनामा प्रतिनिधि बसेका बाबुराम नेपालीले निर्वाचन समिति र वाईसीएलले आतंक मच्चाएको आरोप लगाए। मतगणनास्थलमा बसेको बेला आफूहरुमाथि हातपात गर्न खोजेको उनको दाबी छ।
‘मतपत्रमा चिह्न लगाउन रातो मसी भएको साइनपेन राखिएको थियो, तर मतगणनाको बेला निर्वाचन समितिकै सदस्यले हरियो वा निलो मसी पनि प्रयोग भएको मतपत्र फेला परेको बताउनुभयो,’ नेपालीले नेपालखबरसँग भने, ‘चुनावमा धाँधली गरिएको हाम्रो शंका छ। चुनाव अवधिभर वाईसीएलका जिम्मेवार नेता परिचालन भएका थिए।’
अध्यक्षमा विजय सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ। सापकोटाले अहिलेसम्म ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन्। यस्तै, उपदेश यादव पनि प्रतिस्र्धामा छन्। उनले १३८ मत पाएका छन्।
सापकोटालाई ३२ वर्षे उमेरहद लागेपछि नेतृत्वबाट बाहिरिन बाध्य भएका विद्यार्थी नेतासहित उपमहासचिव शक्ति बस्नेत लगायतले समर्थन गरेका छन्।
यस्तै, हेमन्त राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका छन्। उपदेश यादवलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समर्थन गरेका छन्।
Shares

प्रतिक्रिया