राजनीति


राप्रपा बैठकमा दीपक सिंहले धवल शमशेरलाई ‘थाङ्ने’ भनेपछि...

राप्रपा बैठकमा दीपक सिंहले धवल शमशेरलाई ‘थाङ्ने’ भनेपछि...

जारी बैठकमा आफ्नो धारणा राख्दै दीपक सिंह (दायाँ) र धवल शमशेर राणाको फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८१ आइतबार १२:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी केन्द्रीय समिति बैठकमा महामन्त्री धवल शमशेर राणाले ल्याएको राजनीतिक विचारविरुद्ध कार्यसम्पादन समिति सदस्य एवं सांसद दीपकबहादुर सिंहले तीव्र कटाक्ष गरेका छन्।

शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार नेता सिंहले महामन्त्रीको विचारलाई  ‘थाङ्ने’ विषय भएको टिप्पणी गरेका हुन्। 

नेता सिंहले ३ दिनदेखि जारी केन्द्रीय समिति बैठकमा छलफल गर्नुपर्ने महत्त्वपूर्ण विषय हुँदाहुँदै महाधिवेशनले म्यान्डेट दिएको नेतृत्वलाई कमजोर बनाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताए।

नेता सिंहले कड्कँदै बैठकमा भने, ‘हामीले अहिले गाउँगाउँबाट यो व्यवस्थाका विरुद्ध कसरी जनतालाई सडकमा उतार्ने भन्ने विषयमा छलफल गर्नुपर्छ, आसन्न संसद्‌को अधिवेशनमा कसरी पार्टीले आफ्ना आवाज उठाउने भन्ने विषयमा कुरा गर्नुपर्ने अवस्था छ। सहकारीबाट ठगिएका जनताका पक्षमा लड्नुपर्नेछ। तर, हामी तीन-तीन दिनसम्म केन्द्रीय सदस्यलाई यस्ता थाङ्ने विषयमा लटपटाउने!’

सिंहले यसो भनेपछि बैठकमा एकछिन सन्नाटा छाएको थियो।

साथै नेता सिंहले यस्तै अनावश्यक विवादका कारण पार्टी पटकपटक टुटफुट भएको भन्दै नेताहरूलाई पुनः यस्ता गल्ती नदोहोर्‍याउन चेतावनीसमेत दिए।

पार्टीले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेका केन्द्रीय सदस्यबारे महामन्त्रीको प्रतिवेदनमा नकरात्मक टिप्पणी गरिएको आरोप लगाउँदै नेता सिंहले युवालाई पाखा लगाएर कस्तो पार्टी बनाउन खोजेको भनी महामन्त्री राणालाई प्रश्न गरे। 

जारी राप्रपाको केन्द्रीय समिति बैठकमा महामन्त्री राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध विभिन्न आरोप लगाउँदै ‘राजनीतिक विचार’ पत्र प्रस्तुत गरेका छन्। जसमा अध्यक्ष लिङ्देनको कार्यशैलीको व्यापक आलोचना गरिएको छ। 

राप्रपाको केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ। आज बोल्ने क्रम सकिएर पदाधिकारीले बोलेपछि बैठक सम्पन्न गर्ने राप्रपाको कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad