राजनीति


सुप्रिम सहकारी ठगीः रवि लामिछानेविरुद्ध जाहेरीवालाका तर्फबाट बहस जारी

सुप्रिम सहकारी ठगीः रवि लामिछानेविरुद्ध जाहेरीवालाका तर्फबाट बहस जारी

नेपालखबर
माघ ११, २०८१ शुक्रबार ११:५२, काठमाडौँ

सुप्रिम सहकारी ठगी अभियोगका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले जाहेरीवालाका तर्फबाट बहस भइरहेको छ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जारी थुनछेक बहस बिहीबार नसकिएपछि लामिछानेलाई आज अदालतमा हाजिर हुने सर्तमा पत्नी निकिताकै जिम्मा लगाएर पठाइएको थियो।

सर्तबमोजिम पूर्वगृहमन्त्री लामिछाने अदालतमा उपस्थित भएकाले जाहेरीवालातर्फका अधिवक्ताले बहस थालेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।  

‘जाहेरीवालातर्फको बहस सकिएपछि प्रतिवादीतर्फको पालो आउँछ’, उनले भने।  

बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरेका थिए। यसैगरी उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरे।

त्यसपछि बिहीबारै जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। तर जाहेरवालाका अझै दुई जना कानुन व्यवसायीको बहस बाँकी रहेकाले आज पनि त्यसलाई निरन्तरता दिइएको अदालतले जनाएको छ। 

रविसहित २२ जना प्रतिवादीविरुद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा गत आइतबार पूरक अभियोग दर्ता भएको थियो।

२० जना प्रतिवादी फरार रहेकाले थुनछेक बहस सुरु नै भएको थिएन।

रवि भने गत बुधबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएपछि बिहीबारदेखि थुनछेक बहस भइरहेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad