गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताएका छन्।
बुधबार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बतएका हुन्।
गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गरे।
उनले सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको उल्लेख गरे।
आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्नेकुरामा जोड दिइरहेको उनको भनाई थियो।
सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसदमा दर्ता गर्ने मन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले भने, ‘हामी केही दिनमा सम्बन्धित विधेयकलाई संघीय संसदमा दर्ता गर्नेछौँ। सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको छ। लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश गरिनेछ। यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुशीको अनुभव गरिरहेको छु।’
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए। सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखि कार्य सञ्चालन गरिरहेको बताए।
हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरुको मर्मत तथा रंगरोदन सम्पन्न गरिसकेको उनले जानकारी दिए।
सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण सांगठनिक समन्वयका साथ सहकार्य गरिरहेको बताए। राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुनसके उनीहरुमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने उल्लेख गरे।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानहरुले जागिर नभइ सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताए। नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको उनको भनाई थियो।
Shares

प्रतिक्रिया