राजनीति


माधव नेपालले नपत्याएका वामदेवलाई भित्र्याउन ओली तयार हुनुको कारण

माधव नेपालले नपत्याएका वामदेवलाई भित्र्याउन ओली तयार हुनुको कारण

सीताराम बराल
माघ ७, २०८१ सोमबार १८:२७, काठमाडौँ

गाउँघरमा बुढापाकाहरू भन्छन्, ‘कुनै कुरा हुन चाहेर मात्र हुँदैन, भाग्यमा नै जुर्नुपर्छ।’ 

‘नेकपा एकता अभियान’का संयोजक वामदेव गौतमले एकीकृत समाजवादी प्रवेशका लागि एक महिनाअघि माधव नेपालसँग कुराकानी गरिरहेको चर्चा थियो। तर, आइतबार (६ माघ) गौतमले सञ्चारकर्मीहरूलाई बताए– उनी अब एकीकृत समाजवादी होइन, एमाले प्रवेश गर्नेछन्।   

यसको कारण रहेछ, एकीकृत समाजवादीले उनीमाथि गरेको आशंका। यो कुरा बिनाहिच्किचाहट उनी आफैले सञ्चारकर्मीहरूलाई बताएका छन्। एकीकृत समाजवादीको ढोका बन्द भएजस्तो बुझेपछि एमाले प्रवेशका लागि अध्यक्ष केपी शर्मा ओलीसँग दुई–दुई पटक भेटवार्ता गरिसकेको पनि उनले खुलाएका छन्।  

तर, रोचक चाहिँ के भने, ओलीले कहिले उनलाई एमाले प्रवेश गराउने हुन्, के जिम्मेवारी दिने हुन्, त्यो भने उनैलाई थाहा छैन। यी दुई विषय चाहिँ एमालेसँगै सोध्न उनले सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन्। 

जे होस्, दुई वर्षदेखि नजुरेको एमाले प्रवेश गर्ने।गराउने भाग्य अब भने जुरेजस्तो छ। 

खासमा ओलीका लागि पनि गौतम यतिबेला अत्यावश्यक छन्। एकीकृत समाजवादीमा आफूप्रति आशंका भएपछि गौतमका लागि पनि एमाले महत्त्वपूर्ण हुने भइहाल्यो। त्यसैले, एकाध दिन वा हप्ताभित्रै ओलीको हातबाट सिन्दुर पहिरिएर गौतम एमाले प्रवेश गरे भने त्यसलाई अन्यथा नमाने हुन्छ। 

वामेदवको उपादेयता
एकीकृत समाजवादीमा जान चाहे पनि आफूमाथि आशंका भएपछि एमालेसँग जाने तयारी गरेको भन्ने भनाइ जति रोचक छ, त्यति नै रोचक छ, ‘नेकपा एकता अभियान’का अन्य सहकर्मीहरूबारे गौतमले दिएको जानकारी। 

गौतमका भनाइमा उनी आफू एमालेमा जानेछन्। तर, उनी नेतृत्वको ‘नेकपा एकता अभियान’मा रहेका अन्य केही व्यक्तिहरू भने माओवादी केन्द्र प्रवेश गर्नेछन्। 

बताइए अनुसार,उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्याल लगायतका बहुमत केन्द्रीय सदस्यहरू माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन्। उपाध्यक्षहरू अर्याल, डिल्लीराज भट्टराई (कर्णाली प्रदेश इन्चार्ज), इन्द्र सुब्बा (कोसी इन्चार्ज), हरि काफ्ले (मधेस प्रदेश इन्चार्ज) लगायतले आइतबारै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रसँग एकताको पक्षमा रहेको घोषणा गरेका छन्। 

एकातिर एकीकृत समाजवादीमा जान चाहे पनि त्यो पार्टी गौतमलाई भित्र्याउन त्यो पार्टी तयार देखिएन। अर्काेतिर आफू नेतृत्वको ‘नेकपा एकता अभियान’ को ठूलो समूहलाई एमालेमै डोर्‍याउन समेत उनी असफल देखिए। एमालेमा जाने निर्णयमा असहमत पक्ष माओवादी केन्द्रमा जाने भयो। 

एमालेमा रहँदा केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली, सावित्रा भूषाल लगायतका नेताहरू गौतम निकट मानिन्थे। गौतम निकट धेरैजसो नेताहरू अहिले पनि एकीकृत समाजवादीमा छन्। अर्थात् उनी निकटस्थ पुराना साथीहरू एकीकृत समाजवादीमा छन्, नयाँ साथीहरू माओवादी केन्द्रमा हुनेछन्। 

यस्तो स्थितिमा उनी एक्लै एमालेमा उभिन (त्यसो त उनको साथमा डीबी कार्की पनि हुनेछन्) पुगेका गौतमको हविगत एमालेमा कस्तो होला, त्यहाँ उनले कस्तो महत्त्व पाउलान्! यो आफैमा रोचक विषय हो।  

तर पनि एमाले (खासगरी ओली) का लागि गौतमको केही महत्त्व भने अवश्य छ। तर, त्यतिबेलासम्मका लागि मात्र, जतिबेलासम्म उनको राष्ट्रिय सभा सदस्यको पदावधि कायम रहनेछ। मनोनीत कोटाबाट राष्ट्रिय सभामा पुगेका गौतम २०८२ माघ–फागुनसम्म सदस्य रहने छन्।  

एमाले प्रवेशका लागि आफूले दुईपटक ओलीसँग भेटवार्ता गरिसकेको दाबी गौतमले गरेका छन्। उनले दाबी गरेजस्तै साँच्चिकै ओली उनलाई भित्र्याउन तयार भएका हुन् भने गौतमको महत्त्व बुझेर होइन, उनको सांसद (राष्ट्रिय सभा सदस्य) पदलाई मध्यनजर गरेर भित्र्याउन लागेका हुन्। 

किनकि, गौतमको एमाले प्रवेशले राष्ट्रिय सभामा चाहिँ अल्पमत (२८ सिट) मा रहेको सत्तारुढ गठबन्धनको  पक्षमा एक सिट थपिन्छ।  

गौतमको साथ पाउनासाथ कांग्रेसको १६, एमालेको १०, लोसपा १ सहित राष्ट्रपतिबाट मनोनीत २ (गौतम र अन्जान शाक्य) समेत गरेर राष्ट्रिय सभामा सत्तापक्षको सामान्य बहुमत पुग्छ। एकीकृत समाजवादीले समेत नइच्छाएका गौतमलाई ओलीले इच्छाउनुको मुख्य कारण यही हो। 

ओलीका लागि गौतमको ‘उपादेयता’ अर्काे हिसाबले पनि देखिन्छ। 

पाँच वर्षअघि ओली प्रधानमन्त्री थिए। गौतम त्यहीबेला मन्त्रिपरिषदको सिफारिसमा मनोनीत कोटाबाट राष्ट्रिय सभा प्रवेश गरेका हुन्। ओलीको मनमौजी स्वभावमा सहयोगी नदेखिनेमा तत्कालीन नेकपा केन्द्रीय सचिवालयका गौतम पनि एक सदस्य थिए, जोसँग ओलीले धित मर्नेगरी बदला लिन पाएका छैनन्। 

ओलीले गौतमसँग बदला त्यतिबेला मात्र लिन सक्छन्, जब गौतम ओलीको समीपमा पुग्नेछन्।  

पूरा नहुने दुई रहर
गौतम पनि ओली वा एमालेको अघ्घोरै माया लागेर त्यहाँ जान लागेका होइनन्। एमालेको माया हुँदो हो त पार्टी विभाजन हुँदा ‘एकता अभियान’ नामको छुट्टै खुद्रे पसल थापेर बस्ने थिएनन्। अघिल्लो हप्तासम्म माधव नेपालको मुख ताकेर बस्ने थिएनन् र तीन महिनाअघिसम्म ओलीको सत्तोसरापमा केन्द्रित पनि हुने थिएनन्। 

एमाले विभाजनपछि उनले बनाएको ‘नेकपा एकता अभियान’ न उनको राजनीतिक जीवन सुरक्षित हुने ओत बन्न सक्यो, न त ओतसम्म पुग्ने बाटो नै। ओलीमाथि धारेहात लगाइरहँदा समेत माधव नेपालको मन जितेर एकीकृत समाजवादी भित्रिने स्थिति सिर्जना हुन नसक्नु गौतमको राजनीतिक जीवनको दुखद पक्ष हो। 

यस हिसाबले एमालेमा जाने निर्णय गौतमको बाध्यता हो, रहर होइन।  

गौतमले एमाले छोड्दा त्यसको आन्तरिक जीवन जस्तो थियो, अहिले त्यस्तो छैन। पहिले सामूहिक निर्णय चल्ने एमालेमा अहिले ओलीको एकल हैकम चल्छ। ओलीको हैकम भोगेपछि ‘बाध्यतावश एमाले प्रवेश गरेको थिएँ,’ यो भनाइ गौतमबाटै सुन्न धेरै समय कुर्नु पनि पर्दैन।

यति हुँदाहुँदै पनि गौतम एमाले जान तयार छन्, तयार मात्र होइन, हतारिएका नै छन्। खासमा पूरा हुनै नसक्ने दुई चाहना पूरा गर्न उनी एमालेमा जान चाहन्छन्। 

उनका ती दुई चाहना हुन्– पार्टी अध्यक्ष र प्रधानमन्त्री पद। 

११ वर्षअघि गौतमकै बुइ चढेर ओलीले एमालेको नेतृत्व हत्याएका थिए। झलनाथ खनाललाई पराजित गर्दै ओली सुरुमा एमाले संसदीय दलको नेता भए, त्यसपछि माधव नेपाललाई पराजित गर्दै पार्टी अध्यक्ष बने। 

एमालेको आन्तरिक समीकरणमा त्यो बेला गौतम निर्णायक थिए। जसले उनको समर्थन हासिल गथ्र्याे, त्यही नेतृत्वमा पुग्थ्यो। संसदीय दलमा सहयोग गरे आफू अध्यक्ष बनेपछि गौतमलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनेपछि पार्टीको अध्यक्ष पनि बनाउने आश्वासन ओलीले दिए। 

सुरुमा संसदीय दलको नेता र त्यसपछि एमालेको अध्यक्ष बन्न पाउने आश्वासनमा परेर गौतमले ओलीलाई साथ दिए। 

‘संसदीय दलको नेता’ र ‘एमाले अध्यक्ष’ पद उहिल्यै ‘सोम शर्माको सातु’ बनिसकेको हो। तर, त्यति हुँदा पनि अझ अघि बढेर उनले प्रधानमन्त्री बन्ने सपना समेत देख्न थाले। नेकपाकालमा ‘राष्ट्रिय सभाको सदस्यलाई पनि प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नुपर्छ’ भन्ने उनको माग (सर्त) खासमा प्रधानमन्त्री बन्ने उद्देश्यका साथ राखेका थिए। 

हुन त, एमाले प्रवेशका लागि ओलीसँगको कुराकानीमा गौतमले ‘पार्टी बलियो बनाउने बाहेक मेरा अरु कुनै अपेक्षा र उद्देश्य छैन’ अवश्य भनेका छन्। तर, साँचो कुरा के हो भने, पार्टी अध्यक्ष बन्ने गौतमको चाहना मरेको छैन, प्रधानमन्त्री बन्ने उद्देश्य त झन् त्याग्ने कुरै भएन।  

खोसेरै ओलीबाट यी दुई जिम्मेवारी लिने हैसियतमा गौतम छैनन्। तर, एमालेको एघारौँ महाधिवेशन (२०८३) मा अध्यक्षमा प्रतिस्पर्धा गर्नबाट ७५ वर्ष नाघिसकेका गौतमलाई रोक्न भने ओलीले सक्ने छैनन्। यसर्थ कि, आफ्नो अनुकूलताका लागि ओलीले ७० वर्षे उमेरहद विधानबाट हटाइसकेका छन्।  

गौतमले एघारौँ महाधिवेशनको तयारी गरिरहँदा ओलीका लागि पनि उनको (गौतम) उपादेयता समाप्त भइसकेको हुनेछ, त्यो बेला राष्ट्रिय सभा सदस्यबाट हटिसकेका हुनेछन्। नेकपाकालमा लिन नसकेको बदला सम्भवतः ओलीले एघारौँ महाधिवेशनअघि गौतमसँग लिने छन्, यदि साँच्चिकै गौतम एमाले प्रवेश गरे भने! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad