राजनीति


संसद् अधिवेशन बोलाउन सरकार गम्भीर नभए हामी अघि बढ्छौं : प्रमुख सचेतक पाण्डे

संसद् अधिवेशन बोलाउन सरकार गम्भीर नभए हामी अघि बढ्छौं : प्रमुख सचेतक पाण्डे

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०८१ आइतबार १८:२२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार गम्भीर नभए आफूहरू अघि बढ्ने बताएका छन्। 

‘हामीले अस्ति ४ गते लिखित रूपमा आफ्ना कुरा भनिसकेका छौं, सातवटा पार्टीका नेताले सही गर्नु भएको छ, सात पार्टीका सांसद कति हुनुहुन्छ भन्ने यहाँहरूलाई थाहै छ’, नेपालखबरसँगको कुराकानीमा प्रमुख सचेतक पाण्डेले भने, ‘अधिवेशन बोलाउन सरकार गम्भीर देखिएन भने हामीले अस्ति भनेअनुसार निर्णय गरेर अघि बढ्छौं।’

संसद् छलेर सरकारले अध्यादेशमार्फत् जनतामा निरंकुश शासन लाद्न खोजेको भन्दै गएको शुक्रबार विपक्षी ७ दलले ५ बुँदे वक्तव्य सार्वजनिक गर्दै तत्काल संसद् बैठक बोलाउन आग्रह गरेका थिए। तत्काल बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने उनीहरूको चेतावनी छ।

सरकारले भने माघको तेस्रो साता हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएको छ। माघको १८ वा २० गतेका लागि अधिवेशन आह्वान हुनसक्ने सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।  

तर, विपक्षी दलहरू भने सरकारको यो कुरामा आश्वस्त छैनन्। संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा पटक-पटक कुरा गरे पनि सरकार यसमा गम्भीर नदेखिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेको आरोप छ। 

उनले भने, ‘बोलाउँछौं भन्ने त गरेको गरेकै छ सधैं। अस्तिनै पुसभरी पुस मसान्तभित्र भन्ने थियो, त्यसपछि माघे संक्रान्ति सकेपछि भन्ने थियो। यस्तो हल्लाको त के कुरा, ठोस कुरा आयो भने अनि बल्ल विश्वास गर्न सकिन्छ। हामीले आफ्नो कुरा लिखित रूपमै राखेका छौं, सरकारले वास्ता गरेन भने हामी अगाडि बढ्छौं।’

सरकारले आफूहरुको कुरा नसुने विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिलाई सांसदको हस्ताक्षर बुझाउने तयारी विपक्षी दलको छ। त्यसका लागि एक चाैथाइ अर्थात ६९ जना सांसद चाहिन्छ।

संविधानको धारा ९३ को उपधार ३ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ। त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ।’
 
प्रतिनिधिसभामा विपक्षी ७ दलका ७९ सांसद रहेका छन्, जुन विशेष अधिवेशनको माग गर्न पर्याप्त हुन्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad