राजनीति


सहज ढंगले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य : गृहमन्त्री

सहज ढंगले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य : गृहमन्त्री

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १८:६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सुशासन प्रवद्धन, सहज ढंगले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन्।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा राष्ट्रिय परिचयपत्रका सम्बन्धमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको बताए।

राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार संवेदनशील रहेको दोहोर्‍याउँदै गृहमन्त्री लेखकले ती विवरणको सुरक्षाका गरिने प्रतिबद्धता व्यक्त गरे। ‘नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, तर त्यसको दुरुपयोग हुन दिँदैनौँ’, उनले भने, ‘डेटा सुरक्षामा सरकारले ध्यान दिन्छ।’

गहन अध्ययन गरेर राज्यका नीतिका रुपमा अघि सारिएको राष्ट्रिय परिचयपत्रको कार्यान्वयन अनिवार्य भएको जनाउँदै गृहमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका तथा अशक्त व्यक्तिका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको स्पष्ट पारे। 

उनले राष्ट्रिय परिचयपत्रको विवरण संकलन, प्रशोधन र छपाईसम्बन्धी कार्य तथा तथ्यांको सुरक्षा र भण्डारणको अवलोकन गरी आमनागरिकलाई यसप्रति आश्वस्त पार्ने भूमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरे। 

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले राष्ट्रिय परिचयपत्र लागू गर्ने सन्दर्भमा भएका गतिविधिबारे जानकारी दिएका थिए। 

परिचयपत्रका विवरण सुरक्षामा सांसदको चासो
छलफलमा सांसदहरुले राष्ट्रिय परिचयपत्र प्रणालीमा राखिएका नागरिकको जैविक र व्यक्तिगत विवरणको सुरक्षा सम्बन्धमा चासो राखेका थिए। सांसद हृदयराम थानीले उक्त प्रणालीमा रहेका नागरिकका व्यक्तिगत विवरणको सुरक्षामा संवेदशील हुनुपर्ने बताए। 

सांसद सरिता प्रसाईंले राष्ट्रिय परिचयपत्रका तथ्याकंको सुरक्षाका सम्बन्धमा राज्यले नागरिकलाई आश्वस्त पार्नुपर्नेमा जोड दिइन्। 

समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय परिचपयपत्रको आवश्यकता र महत्वबारे सरकारले नागरिकलाई बुझाउनुपर्ने बताए। 

समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय परियचपत्रसम्बन्धी नागरिकका विवरणको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्दै यसको कार्यान्वयनका क्रममा उत्पन्न जटिलतालाई सरलीकृत गर्न आग्रह गरे।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad