विपक्षी दलहरुले सरकारलाई छिटो संसद्को हिउँदेश अधिवेशन बोलाउन माग गर्दै यदि त्यसमा अझै ढिलाई भए विशेष अधिवेशन माग गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले आवश्यक परे विशेष अधिवेशन बोलाउन मार्ग गर्ने सहमति गरेको हो।
‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस्, अझैं पनि यसरी नै संसद्लाई, जनप्रतिनिधि संस्थालाई छलेर काम गर्छ भने प्रतिपक्षी दलको तर्फबाट आवश्यक पर्यो भने हामी विशेष अधिवेशनको माग गर्नेसम्म हामी तयारी गरिरहेका छौं,’ बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘तयारी गनुपर्छ भन्ने हाम्रो समझदारी बनेको छ। महंगी, भ्रष्टाचार अनियन्त्रित बन्दै गएको छ। स्वेच्छाचारिता बढ्दै गएको छ। दुई पार्टी मिल्यौँ भनेर गणितीय हिसाबले हामी सहज स्थितिमा छौं भन्ने नाममा जनताका आवाजहरु, भावनाका बिरुद्ध कामहरु हुँदै गएका छन्। यसलाई खबरदारी गर्न, जनताका सरोकारका विषयहरु संसद्मा छलफल गर्न जरुरी छ।’
संसद् चालु नरहेको वा स्थगित रहेको अवस्थामा ‘अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण संख्याको एकचौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा’ राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानमा छ।
प्रतिनिधिसभाका ६९ सदस्यले हस्ताक्षर गरेर विशेष अधिवेशन माग गर्न सक्छन्। आजको बैठकमा उपस्थित भएका विपक्षी दलहरुको कुल सांसदको संख्या ७९ पुग्छ।
Shares

प्रतिक्रिया