राजनीति


हवाई टिकट नपाएपछि गाडीमै काठमाडौँ आउँदै रवि, अब आइतबार मात्रै अदालतमा उपस्थित हुने

हवाई टिकट नपाएपछि गाडीमै काठमाडौँ आउँदै रवि, अब आइतबार मात्रै अदालतमा उपस्थित हुने

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १५:६, काठमाडौँ

धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट गाडीमा काठमाडौँ आउने भएका छन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार बेलुका रिहा भएका हुन्। 

आज (शुक्रबार) उनी हवाईमार्गबाट काठमाडौँ आउने तयारी थियो तर श्रीमती निकिता पौडेलसहित पार्टीका साथीको संख्या धेरै भएर हवाई टिकट नपाएपछि गाडीमै आउने भएका हुन्। 

सुरुमा लामिछानेको सचिवालयले उनी आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारी रहेको जनाए पनि गाडीमा आउनुपर्ने भएपछि अब आइतबार मात्र अदालतमा हाजिर हुने भएका छन्।      

‘धेरै जना भयौँ, जसले गर्दा हवाईटिकट पुगेन’, लामिछानेका एक सहयोगीले भने, ‘अब सबै जना गाडीमा आउने भयौँ, जसले गर्दा आजै अदालत उपस्थित हुन भ्याइँदैन।’

भोलि पनि शनिबार परेकाले रवि अब पर्सि आइतबार मात्र जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने ती सहयोगीले जानकारी दिए। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भए पनि काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा पनि मुद्दा चलेकाले लामिछाने यहाँको जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको हो। 

त्यसो त उनीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन तथा पर्साको सानो पाइला सहकारी ठगीको पनि अभियोग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad