राजनीति


चार वर्षपछि बस्यो नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र बैठक

चार वर्षपछि बस्यो नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र बैठक

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १२:४०, काठमाडौँ

नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठक आज (शुक्रबार) काठमाडौँमा सुरु भएको छ।

विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौँमा सुरु भएको हो। बैठक शनिबार सकिनेछ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। भारतबाट त्यहाँका वाणिज्य सचिव सुनील बर्थवालको नेतृत्वको टोली बैठकमा सहभागी छ।

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरवलोकनसम्मका विषय उठान गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसाबले महत्त्वपूर्ण साझेदार भएकाले भारतसँगका यस्ता छलफल निकै महत्त्वपूर्ण हुने उल्लेख गरे।

उनका अनुसार, नेपाल-भारतबीच केही समयदेखि व्यापार पारवहनमा देखिएका समस्या समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए। उनले एकअर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेका प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नेजस्ता एजेन्डा पनि नेपालका तर्फबाट उठाइनेछ।

बैठकमा भारतका प्रतिनिधिहरू सकारात्मक भएर बैठकमा सहभागी भएकाले बैठक उपलब्धिमूलक हुने आशा रहेको पनि अधिकारीले बताए। नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने र भारत त्यो विषयमा सकारात्मक रहेको उनको भनाइ छ। यस बैठकबाट नेपाली निर्यातकर्ताका लागि बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने विश्वास नेपाली पक्षको छ।

बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नसमेत माग गरेको छ। नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँचको विषयलाई प्राथमिकता दिन सुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad