प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच छलफल भएको छ।
बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकमा समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भएको थियो।
लामो समयपछि भएको छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र वेदुराम भुसाल सहभागी थिए।
‘समाजवादी मोर्चालाई सक्रिय बनाउने कुरा भयो,’ बैठकबारे जानकारी गराउँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालखबरसँग भने, ‘त्यसको निम्ति हामी एउटा बैठक बस्छौँ। आफ्नो गतिविधिलाई बढाउने भन्ने कुरा भएको छ।’
त्यस्तै मोर्चालाई थप विस्तार गर्नेबारे पनि उनीहरूबीच छलफल भएको छ। पहिलो प्राथमिकतामा भने यसअघि मोर्चामै रहेको उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल छ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेका बेला आफ्नो पार्टी विभाजित भएपछि यादव असन्तुष्ट हुँदै मोर्चा छाडेका थिए। नेपालले उनलाई मनाउन आफूले पहिले कुरा गर्ने सहमति भएको बताए। ‘उपेन्द्रजीसँग म कुरा गर्छु पहिले,’ नेपालले भने।
मंगलबार सकिएको माओवादी केन्द्रीय समिति बैठकले विचार मिल्ने दल र समूहसँग एकताका लागि वार्ता गर्ने, तत्कालै एकता हुन नसक्नेसँग मोर्चाबन्दी गर्ने र हाल कायम रहेको समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको थियो।
नेपालले अहिलेलाई पार्टी आ-आफ्नो तरिकाले चलाउने र मोर्चाका घटकलाई सक्रिय पार्ने बताए। उनले भने, ‘पार्टी आफ्नोआफ्नो हिसाबले अगाडि बढ्छन्। मोर्चामा रहेका घटकहरूलाई अलि सक्रिय गर्ने कुरा भएको छ।’
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा भएको थियो।
चक्रीय प्रणालीका आधारमा मोर्चाको नेतृत्व फेरिने गरेको छ। हाल मोर्चाको संयोजक नेत्रविक्रम चन्द 'विप्लव' छन्। माओवादी सरकारबाट बाहिरिएपछि मोर्चा निष्क्रियप्रायः थियो।
Shares

प्रतिक्रिया