चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन्। समाजिक संजाल एक्समार्फत उनले राष्ट्रपति सी चिनफिङ, चिनियाँ जनता र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। ओलीले यस दुःखद घडीमा नेपाल दृढताका साथ चीनको साथमा खडा रहेको बताएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अहिलेसम्म भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन्।
Shares

प्रतिक्रिया