राजनीति


पार्टीभित्र कुनै पूर्वसमूहहरू छैनन्, सबै एमाले हुन् : ओली

पार्टीभित्र कुनै पूर्वसमूहहरू छैनन्, सबै एमाले हुन् : ओली

नेपालखबर
पुस २३, २०८१ मंगलबार १७:५२, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका छन्।

एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्वसमूहहरू खोज्नतिर नलाग्न आग्रह गरे।

‘एमालेमा अब कुनै पनि पूर्वसमूहरू छैन,’ ओलीको भनाइ छ, ‘हामीले पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ। भरभराउँदो आजको एमाले खोजौँ। हामी यथास्थितिवादी होइनौँ। क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ।’

ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू लागेको आरोप लगाउँदै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे।

उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको  वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरू सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरू चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गरे।

अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरे। प्रधानमन्त्री ओलीले असम्लग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा  सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताए। 

उनले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गरे। यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र संगठन सुधारका योजना तथा समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad