राजनीति


जनार्दनको स्पष्टीकरण– कुनै पद लिन, बार्गेनिङ गर्न पार्टीमा अलग प्रस्ताव राखेको होइन

जनार्दनको स्पष्टीकरण– कुनै पद लिन, बार्गेनिङ गर्न  पार्टीमा अलग प्रस्ताव राखेको होइन

फाइल तस्बिर


सागर न्यौपाने
पुस २३, २०८१ मंगलबार १५:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले कुनै पद लिन र बार्गेनिङ गर्न पार्टीमा फरक प्रस्ताव नल्याएको प्रष्ट पारेका छन्। माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले त्यो कुरा पार्टी अध्यक्षलाई पनि भनेको बताए।

‘ती प्रस्ताव राख्दा कुनै कुनै पद लिनलाई, कुनै मन्त्री खानलाई, कनै बार्गेनिङ गर्नलाई होइन,’ शर्माको भनाइ छ, ‘त्यो अध्यक्ष कमरेडलाई मैले आफ्नो सबै कुरा बताएको पनि छु, त्यसको लागि होइन।’

उनले गत साउनमा बसेको स्थायी समिति बैठकमा पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै विभिन्न विकल्पसहितको प्रस्ताव पेस गरेका थिए। त्यसले माओवादीमा तरंग सिर्जना गरेको थियो।

शर्माले आफूलाई लागेको कुरा खुलस्त भन्ने आफ्नो स्वभाव भएको र त्यसै अनुसार पार्टीको विधि पद्धति अनुसार प्रस्ताव रोखेको समेत बताए। ‘मलाई लागेका राजनीतिक, सांगठनिक विचारहरु विधिपद्धतिसँगत रुपमा राखेपछि, अध्यक्षसँग घण्टौं गएर कुरा गरेको छु,’ उनले भने, ‘मैले कुराहरु खुलस्त राखेको हुँ। कुनै नचपाई, अर्को कुनै नगरी, बाहिर गएर कुरा काट्नुभन्दा अगाडि भन्नु राम्रो हो भन्ने मेरो बानीका आधारमा त्यो कुरा राखेको हुँ। र, स्थायी समितिमा मैले लिखितरुपमा प्रस्ताव प्रस्तुत गरेको कुरा नेतृत्वको अगाडि, अभिभावकको अगाडि, पार्टीको अगाडि राख्नु मेरो कर्तव्य ठानेर मैले राखेको हुँ।’ 

पार्टीभित्रको बहसलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका खेल्नुपर्छ भन्ने लागेर आफूले प्रस्ताव ल्याएको शर्माको भनाइ छ। ‘यो पार्टीलाई एउटा बहस, एउटा छलफलबाट नयाँ उचाइमा उठाउनका लागि मैले पनि भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘त्यो बहस, छलफल यहाँसम्म आएकोछ। अहिले सकरात्मक कुरा बनेको छ। पार्टीमा बोल्न पाइन्छ। छलफल गर्न पाइन्छ। बहस गर्न पाइन्छ भन्ने कुरा स्थापित भएको छ।’ 

आफूले प्रतिवेदनमा  वामपन्थी र समाजवादी शक्तिका बीचमा एकता, ध्रुविकरण गरेर जानुपर्ने, दलित, अल्पसंख्यकलाई जोडदिनुपर्ने, सहरी क्षेत्रलाई ध्यान दिनुपर्ने, विचारको विकास गर्नुपर्ने लगायतका कुरा उठाएको भन्दै शर्माले त्यसमध्य केही प्रचण्डको प्रतिवेदनमा समेटिएको बताए। 

बाँकी कुरा महाधिवेशनबाट टुंग्याउने भनेर अध्यक्षले घोषणा गरेको भन्दै त्यसको स्वागत पनि गरे। ‘ती मध्य अध्यक्ष कमरेडले राखिसक्नु भएको छ,’ शर्माले भने, ‘बाँकी कुरा महाधिवेशनमा गएर टुंगो लगाउला भन्ने कुरा अध्यक्ष कमरेडले यही घोषणा गर्नुभएको छ। त्यसलाई म स्वागत गर्न चाहान्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad