देशका दुई ठूला कम्युनिस्ट पार्टी सरकार नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका केन्द्रीय समितिका बैठक आइतबार (पुस २१ गते) एकैदिन सुरु भएपछि पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कडा टिप्पणी गर्दै केही सुझाव दिएका छन्।
उल्लिखित दुई पार्टीका केन्द्रीय समितिका बैठक एकैदिन सुरु हुनु संयोग मात्र हुनसक्ने उल्लेख गर्दै बैठकका दस्तावेज र निर्णय सार्वजनिक भएपछि मात्र उनीहरूबीचको समानता/असमानता र उनीहरूको आगामी दिशा बढी प्रस्ट हुने उनले उल्लेख गरेका छन्।
तैपनि तिनका विगत र प्रमुख नेताका प्रवृत्ति हेरेर उनीहरूले बैठकमा के गर्लान् भन्ने विषयमा अहिले नै सहजै अनुमान गर्न सकिने दाबी गर्दै डा. भट्टराईले तीन बुँदामा टिप्पणी गरेका छन्।
‘उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफूलाई चौबीस क्यारेटको शुद्ध ‘कम्युनिस्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन्’, डा. भट्टराईले कटाक्ष गर्दै आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुवै ठूला नेताका वफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन्।’
तेस्रो बुँदामा उनले व्यंग्य गर्दै भनेका छन्, ‘दुवैका बैठकमा तीस वर्ष पहिले विश्वका १६ देशमा कम्युनिस्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भए? संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ? किन सत्तामा पुगेपछि आफूलाई सर्वहारा वर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन्? आदि गम्भीर प्रश्नहरूबारे खासै बहस छलफल हुने छैन।’
यस क्रममा डा. भट्टराईले ‘विनम्र सुझाव’ पनि दिएका छन्।
जुन यसप्रकार छ।
त्यसैले हाम्रो विनम्र सुझाव छ:
-नेपालको विशिष्ट भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक-सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक शासन प्रणाली आदिको सन्दर्भमा हिजो पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा 'कम्युनिस्ट' ब्रान्ड स्थापित र पपुलर भएको हो। अब २१औँ शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिस्ट भाष्य, नीति, कार्यक्रम, संगठन, नेतृत्व, शैलीबाट पूरा गर्न सम्भव छैन। बेलैमा आफूलाई आमूल रूपान्तरण नगरे पुरानै 'कम्युनिस्ट' ब्रान्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। (चीनलगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।)
-अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नवउदारवादी पुँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरताबीच चरम आर्थिक-सामाजिक असमानता, भयंकर पर्यावरण विनास, आणविक हातहतियारको विभीषिका, एआईको संशय आदिले संसारले नयाँ उत्तर-पुँजीवादी विकल्प खोजेको प्रस्टै छ। नेपाल भने भर्खरै पुँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर-पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणालीबीच तालमेल मिलाएर हिँड्नुपर्ने अत्यन्त चुनौतीपूर्ण अवस्थामा छ।
-विश्वमा र नेपालमा चलिरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो। हाम्रो संविधानमा उल्लिखित 'लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवाद' भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो। यसबारे सबै दलका बैठक, भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मञ्चहरूमा बहस होस्। शुभकामना!
Shares

प्रतिक्रिया