राजनीति


संसदको आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने तयारी

संसदको आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने तयारी

नेपालखबर
पुस २१, २०८१ आइतबार १५:२०, काठमाडौँ

सरकारले संसदको आगामी (हिउँदे) अधिवेशनमा ३० वटा विधेयक पारित गर्नेगरी काम अघि बढाएको छ।

अहिले संसदमा १९ वटा विधेयकहरु रहेका छन्। जसमा केही विधेयकहरु सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी काम सुरु गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।

संसदमा रहेका १९ वटा विधेयकबाहेक सरकारले संघीय प्रहरीसम्बन्धी दुईवटा र अर्थ सम्बन्धी केही विधेयकहरु गरी ११/१२ वटा विधेयक संसदमा दर्ता गराउने तयारी गरेको जानकारी दिए।

उनले भने, ‘अहिले १९ वटा विधेयक संसदमा छन्। त्यसमध्ये १५ वटा विधेयक संसदीय समितिमा र ४ वटा विधेयक राष्ट्रिय सभामा छ। यो १९ वटै विधेयक पारित गर्दै सरकारले अरु ११/१२ वटा विधेयक अरु दिन्छु भनेको छ। लगभग ३० वटा विधेयक यो आउने सत्रबाट पास गर्ने लक्ष्य छ।’

प्रमुख सचेतक घिमिरेले संसदको अधिवेशन सकिएपछि सांसदहरु जिल्ला जाने र संसदीय समितिमा गणपूरक संख्या नपुग्दा बैठक बस्न नसकेको स्पष्ट पारे। 

उनले विधेयकमाथिको छलफल समयमा नसकिँदा प्रदेश र स्थानीय सरकारलाई थप कानून निर्माण गर्न समस्या आइरहेको अवस्थालाई मध्यनजर गरेर सरकारमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा विचाराधिन विधेयकमा सहमति जुटाउन संयन्त्र समेत बनाएको छ।

संयन्त्रले समितिबाट विधेयक चाँडो पास गर्नका लागि सांसदहरुसँग छलफल गरेर काम अघि बढाइरहेको बताए। समितिको बैठकमा एउटै विषयलाई लामो समयसम्म छलफल चलिरहने तर निस्कर्षमा नपुग्ने समस्या रहेको बताए।

समितिका बैठकमा सक्रियतापूर्वक सांसदहरुको सहभागिता पनि कम देखिनुले विचाराधिन विधेयक पास हुन नसकेको बताए। २ वर्षमा १७ वटा विधेयक मात्रै पारित हुनु दुखद् भएको बताए।

१७ वटामा ६ वटा विधेयक बजेटसँग सम्बन्धित रहेको उल्लेख गरे।

संसदमा विचाराधिन विधेयकमा छिटो सहमति खोज्ने बारेमा संयन्त्रले दबाब नदिने पनि स्पष्ट पारे। प्रमुख सचेतक घिमिरेले समितिले नै सहमति गरेर ल्याउने तर संयन्त्रले कुनै हस्तक्षेप नगर्ने बताए।

संयन्त्रले विधेयकहरु छिटो पास गर्न समिति र सांसदहरुलाई उत्साहित गर्ने उल्लेख गर्नुभयो। कुनैपनि विषयमा अल्झिएर लामो समयसम्म विधेयक बसेको खण्डमा त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा भने संयन्त्रले सहजीकरण र समन्वय गर्ने बताए।

सहमति जुट्न नसकेर वा विमतिको नाममा लामो समय अड्काएर राखेको खण्डमा भने लोकतान्त्रिक विधि र माध्यमबाट विधेयक टुंग्याइने उनको भनाई थियो।

प्रमुख सचेतक घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको कमी नहुने पनि स्पष्ट पारे। हिउँदे अधिवेशनबाट ३० वटा विधेयक पारित गर्नसके ठूलो उपलब्धि हुने बताए।

पुस अन्तिमसम्ममा संसद अधिवेशन आह्वान हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad