आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले आफ्नै संगठनकी एक नेतृविरुद्ध पार्टीमा उजुरी दिएका छन्।
उनले शुक्रबार पार्टीको अनुशासन समितिमा प्रेमिका रानामगरलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन्।
राना नेविसंघकै केन्द्रीय सदस्य हुन्। उनले विज्ञप्ति जारी गरेर संघमा शेर्पाले अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएकी थिइन्।
प्रेमिका राना मगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा विद्यालय पुनर्निर्माणका लागि संकलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप छ।
‘अध्यक्ष दुजाङ शेर्पाले २०८० कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा नेविसंघले लिएको घोषणा जाजरकोटमै पुगेर गरेको स्मरण गराउँदै उक्त विद्यालय हालसम्म अलपत्र रहेको र तत्कालिन समयमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माणका लागि संकलित रकमको हिसाबसमेत सार्वजनिक नगरी व्यक्तिगत खातामा रकम संकलन गरेर आर्थिक हिनामिना भएको समेत सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।
जय नेपाल कपको नाममा भइरहेको आर्थिक लेनदेन, चन्दा असुली रोक्न र विद्यालय पुनः निर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब सार्वजनिक गरी जाजरकोटमा भूकम्पको समयमा घोषणा गरिएको क्षतिग्रस्त विद्यालय पुनः निर्माणमा जुट्न पनि उनले आग्रह गरेकी छन्।
‘सिंगो नेविसंघ केन्द्रीय कार्यसमितिलाई स्व. सरिता सिंहको स्मृतिमा जाजरकोटको नलगाडमा राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माणको कार्यमा लगाउन ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेकी छन्।
त्यसविरुद्ध शेर्पाले पार्टीलाई गुहारेका हुन्। उजुरीमा शेर्पाले संगठनको एकता, गरिमा, अनुशासन, र मर्यादालाई कायम राख्न निष्पक्ष छानबिनको माग गरेका छन्।
दुजाङ शेर्पाको उजुरी:


प्रेमिका राना मगरको विज्ञप्ति:


Shares

प्रतिक्रिया