प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सबै मिलेर निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गर्न नदिने वातावरण बनाएको बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधरणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘निजी क्षेत्रका साना व्यवसायीहरुको हिसाव किताव पनि सबै अख्यितारले हेर्ने भन्ने कुरा आइराखेको थियो। तपाईंहरु सबै अख्तियारको फन्दामा पर्ने खतरा पैदा भएको थियो।’
निजी क्षेत्रमा अख्तियार छिराइए सबै बर्बाद हुने भन्दै आफूहरुले त्यसलाई रोकेको प्रचण्डको भनाइ थियो। उनले भने, ‘हामी सबैले निजी क्षेत्रमा अख्तियार छिराइयो भने गयो, सबै बर्बाद हुन्छ भनेर त्यसलाई नआउने बनाएका छौं।’
उनले व्यवसायीहरु बेचेको भन्दै बधाई समेत दिए। प्रचण्डले भने, ‘निजी क्षेत्रमा अख्तियार आउन नदिने भयौं हामीले। हामी सबै मिलेर त्यो वातावरण बन्यो। यसका लागि तपाईंहरुलाई बधाई भन्न चाहान्छु, बच्नुभयो।’
Shares

प्रतिक्रिया