नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताएका छन्।
देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको संज्ञा दिँदै उनले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए।
उनले भने, ‘राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिएअनुसारको परिणाम आउन केही समय लाग्छ, यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ, धैर्य गरौँ, अर्थतन्त्रमा सुधार सहित विकास–निर्माणले गति लिनेछ।’
उनले भने, ‘देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानुन बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ कानुन बनाइने छ। शासकीय सुधारका पक्षमा ६ सदस्यीय कमिटीले काम गरिरहेको छ। आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानुन निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो।’
फरक प्रसंगमा पत्रकार महासंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासचिव पोखरेलले वर्तमान सरकारको भावना र ‘स्प्रिट’ लाई बुझेर सहयोग र सहकार्य गर्न संचारजगतको ध्यानाकर्षण गरे।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रकाशन विभाग प्रमुख संगीता बस्याल, प्रेस चौतारी दाङका अध्यक्ष प्रमेबहादुर राम्जालगायत वक्ताले मुलुकको समसामयिक राजनीतिक गतिविधि र पत्रकार हकहितका विषयमा चर्चा गरे।रासस
93
Shares

प्रतिक्रिया