राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारका अनुसार, उनले पेन्सनपट्टा बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। आयोगको टंगालस्थित प्रधान कार्यालयबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाटै आइतबार नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले बताए।
प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी हाल शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष छन्।
केही समयअघि अख्तियार प्रमुख प्रेमकुमार राईले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी संगठनका नेताहरुका कारण भ्रष्टाचार बढेको अभिव्यक्ति दिएका थिए।
Shares

प्रतिक्रिया