काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा चलाएको छ।
मेयर बस्नेतले पदको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र जगतगुरु कृपालु प्रतिष्ठान नेपालको स्वार्थमा काम गरेको, त्यसबाट नाजायज लाभ लिएको र राज्यकोषमा ठूलो नोक्सानी पुग्ने काम गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ। बस्नेतकै कारण जगतगुरु कृपालु प्रतिष्ठानजस्तो धार्मिक संस्था पनि भ्रष्टाचारजस्तो गम्भीर अपराधमा मुछिएको छ।
नाम मन्दिरको, काम हाउजिङको
घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलका पद्मा कोलोनी, पद्मा मर्चेन्टलगायतका कम्पनीका परियोजना नागार्जुन नगरपालिकामा विभिन्न चरणमा सञ्चालन भइरहेका छन्। घरजग्गा व्यवसाय गर्न उनले उक्त धार्मिक संस्थाको आड लिएको पाइएको छ।
सुरूमा त्यहाँका स्थानीय जग्गाधनीबाट उनले मन्दिर र अन्य धार्मिक सम्पदा निर्माण गर्ने भनेर सस्तोमा जग्गा उठाए। पछि त्यही ठाउँमा कोलोनी बनाएर भटाभट घर बेच्न थाले। उनको व्यवसाय प्रवर्धनमा मेयर बस्नेत दिलोज्यान दिएर लागे।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार, प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी कँडेल र उनका कम्पनीहरूलाई जग्गा उपलब्ध गराउने सम्झौता गराएको पाइएको छ। जग्गावापत् ३ करोड ७२ हजार रूपैयाँ जग्गाधनीहरूलाई दिएको र जगतगुरू प्रतिष्ठानका नाममा बैनाबट्टा गराउने काम पनि नगरप्रमुख बस्नेतले नै गरेको भेटिएको छ।
मेयर बस्नेतले पदीय दुरूपयोग गरी जग्गाधनीहरूलाई गफलतमा पारेर जग्गा व्यवसायीको स्वार्थमा काम गरेको अख्तियारको दाबी छ।
धार्मिक संस्थाको नाम लिएर बैना गरिएको जग्गाको बजार मूल्य ४७ करोड ७५ लाख भए पनि बस्नेतले पद्मा कोलोनीको नाममा १८ करोड ९४ लाख १८ हजार ४४८ रूपैयाँ पद्मा कोलोनीमार्फत भुक्तानी दिलाएको पाइएको छ। राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार रूपैयाँमा यो कारोबार भएको छ। यसो गर्दा २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कारोबार गराएको र यसले राजस्वमा ठूलो नोक्सानी पुगेको अख्तियारको दाबी छ। यो काम गरेवापत् बस्नेतले घूस तथा कमिसन पनि प्राप्त गरेको जिकिर अख्तियारको छ।
यति मात्र होइन, उनले घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट र विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिएको पनि पाइएको अख्तियारले जनाएको छ।
कतिसम्म भने प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरेको पाइएको छ।

बिहेभोज पनि घुसमा
नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले आफ्ना छोराको बिहेभोज पनि घुसमै गरेको पाइएको छ।
उनले शंकर होटलमा बिहेभोज दिँदा घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलले रकम तिरिदिएको भेटिएको छ। कँडेलले मेयरका छोराको बिहेभोजमा शंकर होटलमा २४ लाख ७२ हजार ६३७ रूपैयाँ तिरिदिएको र त्यो रकम घुसवापत् भक्तान गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ। मेयरजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको छोराको बिहेभोजको रकम प्रत्यक्ष स्वार्थ जोडिएका विवादित व्यवसायीले यति ठूलो रकम तिर्नु घुस नै भएको निष्कर्षसाथ अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मेयर बस्नेतका भ्रष्टाचारजन्य कार्यमा श्रीमती उर्मिला बस्नेतको पनि मिलेमतो रहेको अख्तियारको निष्कर्ष छ।
नगर प्रमुखको पद तथा ओहोदाको दुरुपयोग गरी घरजग्गा व्यवसायी कँडेलको स्वार्थामा काम गरिदिएवापत् २ करोड १५ लाख ७३ हजार ३९५ रूपैयाँ बैंक खातामार्फत् घुस लिएको पाइएको अख्तियारका अनुसन्धान अधिकृतले नेपालखबरसँग बताएका छन्। ती अधिकृतका अनुसार, ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा नै बस्नेत दम्पतीले हात पारेका छन्।
होटलमा तिरेको बिहेभोजको रकम, बैंकमा पठाइदिएको पैसा र जग्गासमेत गरी ९ करोड २२ लाख ४६ हजार रूपैयाँ मेयर बस्नेतले भ्रष्टाचार गरेको हिसाब अख्तियारले अदालतमा प्रस्तुत गरेको छ।
यस्तै बस्नेत दम्पती र कँडेलले गैरकानुनी रकमको चलखेल गरेको, अवैध रकम लुकाएको र रूपान्तरण गरेको भन्दै तीनै जनाविरूद्ध थप १३ करोड रूपैयाँबराबरको सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ।
बस्नेत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई नगर प्रमुखमा विजयी भएका हुन्। उनले १० हजार १ सय ८६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दनहरि गौतमलाई पराजित गरेका थिए।
नागार्जुन नगर प्रमुखमा बस्नेतको यो दोस्रो कार्यकाल हो।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएलगत्तै बस्नेत पदबाट निलम्बित भएका छन्।
Shares

प्रतिक्रिया