नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिमार्जन गर्दै समाजवादी गणतन्त्र तर्फ जान नचाह्ने राजनीतिक दल र नेता इतिहासबाट विलय हुने चेतावनी दिएका छन्।
प्रेस सेन्टर नेपाल रोल्पाको छैठौं अधिवेशनलाई लिवाङमा सम्बोधन गर्दै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रभित्र देखिएका समस्याहरुलाई ‘सर्भिसिङ’ गरेर हल गर्दै समाजवादी गणतन्त्रको विकल्पमा जान तयार हुनु नै अहिलेको समयको माग भएको उनले बताए।
संविधान र कानुनले दिएको आदेश नमान्ने र आफ्नो हठ देखाउने राजनीतिक दल र नेताहरु सिद्धिने उनको भनाई थियो।
‘शहरी इलाकामा नयाँ नयाँ मेयरहरु आए। देशभरि पुराना राजनीतिक दलहरुमाथि प्रश्न उठ्न थाले,’ उनले भने, ‘नेपालको राजनीतिक व्यवस्था, आर्थिक व्यवस्थामाथि, हामीले गरेको प्रयोगका सीमाहरुमाथिको प्रश्न हो यो। यसलाई पुराना दलहरु र नेताहरुमाथिको प्रश्नको रुपमा कतिपयले लिएका छन्। अर्काथरीले राजतन्त्रतर्फ फर्कन खोजेको रुपमा अर्थ लगाएका छन्। हाम्रो पार्टीले व्यवस्थामाथि प्रश्नहरु हुन्छन् तर यसलाई सर्भिसिङ गरिरहनुपर्छ र अघि बढ्नुपर्छ भनेको छ।’
अहिलेको व्यवस्थामाथिका प्रश्नहरुको सम्बोधन र सुधार गर्दै जानुको विकल्प नभएको उनले बताए।
‘अहिलेको व्यवस्थामाथिका समस्याहरुमा सभिर्सिङ गर्नुपर्छ परिमार्जन गर्नुपर्छ। जहाँ हामी परिमार्जन गर्न तयार हुन्छौं त्यो दल र नेता टिक्छ। जसले हठ गर्छ त्यो इतिहासबाट साइड लाग्छ’ पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले थपे।
यो व्यवस्थालाई परिमार्जन गर्दै समाजवादी गणतन्त्रतर्फ जान खोज्नेहरु अघि बढ्ने, तर त्यसलाई मान्न तयार नहुनेहरु पराजित हुने उनले बताए।
उपमहासचिव पुनले नेपाली जनताको आकाँक्षा अनुसार बनेको नयाँ संविधानमा नेपाली विविधताको प्रतिविम्बन भएको बताएका छन्।
विगतमा राजतन्त्र र सामन्तबादमा माथि र माथिको आदेश भन्ने प्रचलन भएपनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा त्यस्तो अवस्था नरहेको उनले बताए।
आम नागरिकले पनि आफूले गरेको कामप्रति जवाफदेही हुनपर्ने उनले बताए। लोकतन्त्रमा स्वतन्त्रता, दायित्व, अनुशासन र कर्तव्य पनि हुन्छ। त्यो नागरिकले पालना गर्नुपर्छ,’ उनले भने।
Shares

प्रतिक्रिया