सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताएका छन्।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित २६औँ पोखरा सडक महोत्सवको शनिबारउद्घाटन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारबाट आवश्यक निर्णय लिनका लागि पहल गर्ने आश्वासन दिए।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै उनले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए। मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू यहीबाट हुनेगरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य ६ वटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औँल्याए। ‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ। यहाँ डेटा सेन्टर बनाउन सकिन्छ।
धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन। अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ।’ रासस
Shares

प्रतिक्रिया