राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन भएपछि कानुनी उपचार खोज्न परामर्श थालेको छ।
रास्वपाले यसबारे रास्वपा सांसद सोविता गौतम, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त र नारायण घिमिरेले छलफल गरिरहेको र उनीहरूबाट प्राप्त रायका आधारमा आगामी कदम चाल्ने निर्णय गरेको छ।
रास्वपाको शुक्रबार बसेको सचिवालय बैठकमा पनि यस विषयमा छलफल भएको थियो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको व्यक्ति सांसदकै हैसियतमा संसदमा गइरहने तर आफ्ना सांसद रवि लामिछाने भने अभियोगपत्र अदालतमा दायर हुनेबित्तिकै निलम्बनमा पर्ने कुरा संगतियुक्त नदेखिएको कुरा पार्टीको बैठकमा उठेको रास्वपाका कार्यवाहक प्रवक्ता कविन्द्र बुर्लाकोटीले बताए।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एकजना (टेकबहादुर गुरुङ, नेपाली कांग्रेस) भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेपछि पनि सांसद कायमै हुनुहुन्छ। हाम्रो सभापति रवि लामिछाने किन निलम्बनमा भनेर पार्टी पंक्तिमा मात्र होइन, सामान्य चेत भएका सम्पूर्ण नेपालीले उठाएको प्रश्न हो। साँच्चिकै बदनाम गर्न रहेछ कि भन्ने शंका उब्जाएको छ। यसमा कानुनी परामर्श गरिरहेका छौँ। उचित समय आएपछि पार्टीले उचित कदम चाल्छ। यसमा ठोस निर्णय गरेर अहिले नै यही गर्ने भन्ने हाम्रो पार्टीले भनिसकेको छैन।’
सांसदबाट रवि निलम्बित, संसद् सचिवालयले निकाल्यो सूचना
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको जानकारी प्रहरीले संसद सचिवालयमा पठाएपछि उनी निलम्बनमा परेको सूचना सोमबार प्रकाशित भएको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीले निलम्बन प्रयोजनका लागि सभामुख देवराज घिमिरेलाई आइतबार नै जानकारी गराएको थियो।
Shares

प्रतिक्रिया