राजनीति


नयाँ पार्टी खोल्दै छन् भीम रावल?

काठमाडौँमा पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्ने
नयाँ पार्टी खोल्दै छन् भीम रावल?

गोकुल जोशी
पुस १२, २०८१ शुक्रबार ९:५९, कञ्चनपुर

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावल अब के गर्लान्? कुनै अर्को पार्टीमा प्रवेश गर्लान् कि? अहिले धेरैलाई यो जिज्ञासा लागिरहेको छ। 

यस विषयमा नेपालखबरले रावलनिकट नेताहरूसँग बुझ्ने प्रयास गरेको छ। 

उनीहरूले बिहीबार बताएअनुसार रावलले एक/दुई दिनभित्रै पत्रकार सम्मेलन गरेर आफ्नो आगामी कदमबारे खुलाउनेछन्।

‘शुक्रबार या शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्नुहुन्छ,’ रावलनिकट एमाले अछामका नेता प्रकाश शाहले भने, ‘कुनै पार्टीमा प्रवेश गर्नुहुन्न। आफ्नै नयाँ पार्टी खोल्नुहुन्छ। हाम्रो पनि अपेक्षा त्यहीँ छ।’

पत्रकार सम्मेलनपछि रावल देश दौडाहमा निस्किने छन्। रावल सुरुमा प्रभाव क्षेत्र गृहप्रदेश सुदूरपश्चिम आउने छन्। रावललाई उनी निकट नेताहरूले पार्टी खोल्नुपर्नेमा सुझाव दिइरहेका छन्।

एमालेबाट निकालिएपछि रावलले आफूविरुद्ध सत्ताको उन्मादमा स्वेच्छाचारी र निरंकुश कदम चालिएको टिप्पणी गरेका छन्। उनले कारबाही गर्ने ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नसमेत अपिल गरेका छन्।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो।

२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग रावलले प्रतिस्पर्धा गरेका थिए।

तर रावल पराजित भए। ओलीको इच्छाविपरीत प्रतिस्पर्धा गरेपछि रावल ओलीको आँखाको तारो बनेका थिए। 

रावल एमालेमा माधवकुमार नेपाल निकट नेता मानिन्थे। तर एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावलले नेपालको साथ छाडे। १० बुँदे सहमति गर्दै रावल एमालेमै रहे।

त्यसबेला ओलीले लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज कायम राखेर रावललाई उपाध्यक्षकै भूमिका सीमित राखे। पार्टीभित्र ओलीको कटु आलोचक रावल अध्यक्षमा प्रतिस्पर्धा गरेयता ओलीको खेदाइमा परे।

त्यसपछि रावल एमालेमा सक्रिय भूमिका रहेनन्। यसबीच एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न तीन सदस्यीय समिति पनि बनायो। सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समितिले रावलसंग छलफल पनि गर्‍यो। तर रावल र ओलीबीचको तिक्तता मेटाउन सकेन। 

०८० साउन ३० गते अध्यक्ष केपी शर्मा ओलीले रावलसँग संवाद गरेका थिए। तर रावललाई पार्टीमा काम गर्ने वातावरण बनेन। सधैँजसो ओलीको विरोध र पार्टीलाई विधानसम्मत नचलेको भन्दै आलोचना गर्ने रावल अन्ततः बुधबार एमालेबाटै लखेटिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad