राजनीति


जिम्मेवारी खोसिएपछि तिम्सेना- महान् निर्णयका लागि कमरेडहरूलाई धन्यवाद, बोल्न छाडिँदैन

जिम्मेवारी खोसिएपछि तिम्सेना- महान् निर्णयका लागि कमरेडहरूलाई धन्यवाद, बोल्न छाडिँदैन

नेपालखबर
पुस १०, २०८१ बुधबार १८:५१, काठमाडौँ

नेकपा एमालेले ६ महिनासम्मका लागि जिम्मेवारी खोसेपछि केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पार्टीले गर्ने गलत कामको आवाज उठाउन नछोड्ने बताएकी छन्।

बुधबार एमालेको सचिवालय बैठकले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनासम्म कुनै जिम्मेवारी नदिने निर्णय गरेको छ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गादान लिएर एमालेले कीर्तिपुरमा भवन बनाउने निर्णयप्रति असहमति जनाउँदै उनले सार्वजनिक टिप्पणी गरेकी थिइन्। त्यसमा पार्टीले उनीसँग स्पष्टीकरण सोधेको थियो।

पार्टीले जिम्मेवारीबाटै हटाउने निर्णय गरेपछि उनले पार्टीको निर्णय माने पनि जनचासोका विषय उठाइरहने बताएकी छन्। 

‘हामीजस्तो इमान्दार कार्यकर्ताको कत्लेआममा पार्टी अझै माथि जाओस्,’ तिम्सेनाले नेपालखबरसँगको प्रतिक्रियामा भनिन्, ‘नेकपा एमालेले हामीमाथि गरेको कारवाही सबै ज्ञान चेतनालाई बन्धकी राखेर गरिएको निर्णय हो यो।’

‘पार्टीले गरेको निर्णय जहिल्यै मान्दै आइयो, यति महान् निर्णय गर्ने कमरेडहरूलाई धन्यवाद !’, उनले थपिन्, ‘किनभने उहाँहरूले कस्ताकस्ता अभियोग लागेका मान्छेहरूलाई केही गर्नुभएको छैन। हामीले त सुशासनको विषय उठाएको हो। अनि यो कारबाहीबाट डराइँदैन। यस्ता विषय उठाइरहन्छौँ। जनचासोको विषयमा, पार्टीले बाटो बिराएको विषयमा बोलिरहिन्छ।’

गत कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। 

गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान प्राप्त भएको भन्दै एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए। गुरुङले त्यहाँ भवन पनि बनाइदिने र अर्को वर्षको दसैँमा उद्घाटन हुने गरी तयार गरिदिने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad