राजनीति


सम्पत्ति शुद्धीकरणमा रविविरुद्ध झण्डै २८ करोड बिगो, छविलाई ७४ करोड

सम्पत्ति शुद्धीकरणमा रविविरुद्ध झण्डै २८ करोड बिगो, छविलाई ७४ करोड

नेपालखबर
पुस ७, २०८१ आइतबार १५:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम भएको छ।

आइतबार अदालतमा तीनवटा कसुरमा एकसाथ अभियोग पत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्। 

सम्पत्ति शुद्धीकरणको कसुरमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका चार जनाविरुद्ध अभियोग लगाइएको छ। जसमा रवि लामिछानेसँग २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो भराउन माग गरिएको छ। 

यो कसुरमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा कायम गर्दै अभियोग दायर भएको छ। जोशी रविभन्दा एक महिनापहिले नै पक्राउ परेका थिए। 

यस्तै लिला पछाई र रामबहादुर खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको सूचना अधिकारी शर्माले बताइन्। 

रवि र छविसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा, संगठित अपराधमा १९ जना, सम्पत्ति शुद्धीकरणमा ४ जना र राष्ट्र बैंक अन्तर्गतको कसुर (क्रिप्टो) मा २ जना विरुद्ध अभियोग लगाइएको हो। 

‘रवि लामिछानेसहितका प्रतिवादीहरुले आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर आपराधिक समूहको सदस्य भई जानी-जानी सहकारीको बचत रकम अपचलन गरी संगठित अपराधको कसुर गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय हुन,’ अभियोग पत्रमा उल्लेख छ।

उनीहरुविरुद्ध सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। 

जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो। 

अभियोग पत्रमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ।

यस्तै वीरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो। उनीहरुविरुद्ध व्यक्तिगत र सामूहिक बिगो कायम गरिएको छ।

रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। उनलाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। 

सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरुको हकमा अदालतबाटै कानुनबमोजिम हुन भनिएको छ। 

लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ। निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad