राजनीति


रविमाथि अभियोग : आपराधिक लाभको लागि आपराधिक समूहसँग मिलेर काम गरे

रविमाथि अभियोग : आपराधिक लाभको लागि आपराधिक समूहसँग मिलेर काम गरे

नेपालखबर
पुस ७, २०८१ आइतबार १२:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आपराधिक लाभका लागि आपराधिक समूहसँग मिलेर काम गरेको अभियोग लागेको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीमा आइतबार तीन वटा कसुरमा अभियोग पत्र दायर गरेको हो। 

जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सजाय माग गर्दै जिल्ला अदालत कास्कीमा अभियोग दर्ता भएको छ।

‘रवि लामिछानेसहितका प्रतिवादीहरुले आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर आपराधिक समूहको सदस्य भई जानी जानी सहकारीको बचत रकम अपचलन गरी संगठित अपराधको कसुर गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय हुन,’ अभियोग पत्रमा उल्लेख छ।

उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। 

जिबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की लगेको थियो। 

अभियाेग पत्रमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ।

यस्तै बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो। उनीहरुविरुद्ध व्यक्तिगत र सामुहिक बिगो कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad